काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी प्रदेशलगायत वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा तथा वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी प्रदेशका केही स्थानहरूमा तथा वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै कोशी र वागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।