News 24 Television
सुरक्षा र जानकारी दिन यात्रु सहायता कक्ष सञ्चालन

झापा । नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ । 

मंगलबार उक्त स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी पाउने र गराउने ठाउँ यात्रु सहायता कक्ष हो । 

जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय संस्था समेतको समन्वय र सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । 

यात्रु सहायता कक्षको शुभारम्भ गर्दै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यात्रुहरुलाई ठगीबाट बच्न यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । साथै उनले हरेक स्थानको भाडा दर र समय तालिका यात्रु सहायता कक्षमा अनिवार्य राख्न निर्देशन दिए ।

दसैँ–तिहार र छठमा अभियानका साथ विशेष सुरक्षा योजना सुरु गरिएको सुरक्षा निकायले जनाएको छ ।  मेचीनगर–६ स्थित काँकरभिट्टा बस टर्मिनलबाट विभिन्न स्थानका लागि लामो तथा छोटो दूरीका सवारी साधान छुट्ने गर्छन् । यात्राको क्रममा कुनै प्रकारको असहज महसुस भएमा र सामान छुटेमा अब यात्रु सहायता कक्षको सहायतामा सहज हुनेछ ।

अन्य समयमा भन्दा चाडपर्वमा विभिन्न स्थान जाने र आउने मानिसहरूको चहलपहल बढी हुने गरेको छ । जसका कारण यात्राको क्रममा सर्वसाधारण विभिन्न बहानामा ठगिने सम्भावना बढी हुन्छ ।  यसतर्फ सरोकारवाला निकाय चनाखो हुनुपर्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update