News 24 Television
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन 

कास्की । काठमाडौं लगायत विभिन्न सहरमा चाडबाड लक्षित बजार अनुगमन तीब्र पारिएको छ । शहर बजार क्षेत्रमा अनुगमन तीब्र भइरहँदा कास्कीको रुपा गाउँपालिकाले पनि अनुगमन शुरु गरेको छ । ग्रामिण क्षेत्रका बजारमा पनि कालोबजारी, म्याद नाघेका बस्तु विक्रीवितरण हुने गरेको गुनासो आएपछि कास्कीको गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको हो । 

बजार अनुमगनमा धेरै पसलमा मूल्य सूची नटाँसेको, म्याद गुज्रेको बस्तुको बिक्री तथा व्यवसाय दर्ता नगरेको भेटिएको छ । कास्कीको रुपा गाउँपालिकाको भिरचोक, देउराली बजारमा कहिल्यै नदेखियको दृष्य देखियो । चाडबाड नजिकिंदै गर्दा देशका मुख्य शहरहरुमा सरकार र सरोकारवालाहरुले बजार अनुगमनलाई तिब्रता दिने चलन छ । तर ग्रामिण क्षेत्रमा भने यस्ता अनुगमन प्राय गरिदैन । तर कास्कीको रुपा गाउँपालिकामा भने अध्यक्ष नवराज ओझाको नेतृत्वमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । 

पालिकाको वडा नं ५ भिरचोकमा मात्र २५ वटा पसलमा अनुगमन गरिएको  छ । बजार अनुमगन गर्दा धेरै पसलमा मूल्य सूची नटाँसेको, म्याद गुज्रेको बस्तुको बिक्री भएको तथा व्यवसाय दर्ता नगरेको भेटिएको रुपा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए ।

अनुगमन टोलीले बजारका खाद्यान्न, फ्रेस हाउस, कस्मेटिक, फेन्सी लगायत विभिन्न पसलमा अनुगमन गरेको थियो । उत्पादन मिती नभएका र म्याद नाघेका बस्तुलाई तत्कालै नष्ट गरिएको छ । गाउँपालिकामा व्यवसाय दर्ता गरेर नवीकरण नगरेका १४ वटाको व्यवसाय नवीकरण समेत गरिएको र कतिपयले आन्तरिक राजश्व कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेकाले त्यहाँपनि दर्ता गर्न आदेशात्मक सुझाव दिईएको छ ।

शहरी क्षेत्रमा बजार अनुगमन हुने गरे पनि ग्रामीण क्षेत्रमा अनुगमन नगरिने भएकाले उपभोक्ता हितबारे स्थानीयलाई जानकार गराउन तथा व्यावसायीलाई व्यवसाय सञ्चालन सम्बन्धी सचेतनाका लागि अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । 

बजार अनुगमनले व्यवसायी र उपभोक्ता दुबैमा बस्तु बिक्री र खरिदप्रति सचेतना फैलाएको अनुगन टोलीका सहभागीको बुझाई छ । चाडपर्वको अवसरमा मात्र नभइ नियमित रुपमा नै बजार अनुगमन गर्ने गाउँपालिकाले जनाएको छ ।

रुपा गाउँपालिकामा साढे सात सय पसल दर्ता छन् । तर नियमित अनुगमन नहुने भएकाले शहरको जस्तै ग्रामिण क्षेत्रका बजारमा पनि मनोमानी बढ्दो छ । यसतर्फ स्थानीय निकायदेखि प्रदेश र केन्द्र सरकारको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update