काठमाडौं । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको मानहानी मुद्दाको पेशी सारिएको छ । सर्वोच्च र बारले विवाद मत्थर पार्ने मध्यमार्गी बाटो खोजे वा यो विवाद अझैं तन्किएला ? सर्वसाधारणका लागि सर्वाधिक चासोको विषय हो यो । तर, बारले तर्साउन खोजेको भन्दै नडराउने दाबी गरेको छ ।
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले दुई न्यायाधीश सिफारिसविरुद्ध सार्वजनिक रुपमै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेन मिलाउने काम गरेको आरोप लगाए । घिमिरेले आफूलाई थुन्न चुनौति दिदै सर्वोच्चको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नियुक्ति सिफारिसमा उनले प्रश्न उठाएका थिए ।
सर्वोच्चमा रिक्त न्यायाधीशको पुरा कोटा सिफारिस नगरी दुई जनामात्रै सिफारिस गर्नुले स्वभाविक रुपमा प्रश्न उठेको छ । जसले गर्दा बारको प्रश्न र आक्रोशमा सर्वसाधारणले समेत जवाफ खोजिरहेका छन् ।
यस्तोमा सर्वोच्चमा फुल कोर्ट बैठक बस्दै बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा चलाउने निर्णय गरेपछि सर्वोच्च प्रशासनले सक्रियता देखायो । तर, बारले पनि आकस्मिक बैठक बस्दै प्रधानन्यायाधीश श्रेष्ठ लक्षित नभई न्याय परिषद्विरुद्ध बोलेको भन्दै यसलाई केहि सन्तुलन मिलाउने प्रयत्न ग¥यो ।
बारले यस्तो जिकिर गरेपनि सर्वोच्चले अवहेलना मुद्दा दायर गर्दै मंगलबारका लागि पेशी तोक्ने तयारी गरेको थियो । तर, अन्तिममा आएर सर्वोच्च प्रशासनले यसको पेशी कार्तिक १ गते तोक्ने गरि स्थगित गरिदिएको छ ।
सर्वोच्चका अनुसार घिमिरेविरुद्धको अवहेलना मुद्दा अब कार्तिक १ गते पेशी चढ्ने सम्भावना छ । तर, निश्चित भने छैन् । यस्तोमा अध्यक्ष घिमिरेले बारलाई तर्साउन खोजेको भन्दे नडराउने चेतावनी दिएका छन् । उनले संवैधानिक परिषद्माथि त प्रश्न गर्न पाइन्छ भने न्याय परिषद्माथि प्रश्न गर्न नपाउने हो ? भन्दै प्रतिप्रश्न समेत गरेका छन् ।
उसोतः बार बेञ्च विवाद तत्काललाई भने टरेको छ । तर, दशैंपछि सर्वोच्चले यो मुद्दालाई कसरी अघि बढाउँछ भन्ने विषयले समेत बार बेञ्चको सम्बन्धमा प्रभाव देखिनेछ ।
बार–बेञ्च विवाद
बार बेञ्च विवाद उत्कर्षमा पुग्यो भने न्याय प्रणाली नै क्षतविक्षत बन्न सक्छ । बारले देशभर रहेका कानून व्यवसायीलाई बहसमा नजान अपिल गर्नेदेखि निर्देशन समेत दिन सक्ने स्थिति बनेमा अदालतमा न्याय प्रक्रिया नै प्रभावित बन्न सक्छ ।
यहि विषयलाई केन्द्रमा राखेर सर्वोच्च प्रशासनले पनि चलाखीपूर्ण ढंगले निर्णय लिने संकेत देखाएको छ भने बारले पनि प्रधानन्यायाधीश श्रेष्ठलाई व्यक्तिगत रुपमा नभई संस्थागत रुपमा आरोप लगाएको दाबीपछि विषय सहजतामा जाने अपेक्षा गरिएको छ । यद्यपी प्रधानन्यायाधीश श्रेष्ठ अब अवकाशमा जाँदैछन् । जसकारण दशैंपछिको स्थिति फरक हुने र नयाँ नेतृत्वले कसरी लिन्छ भन्ने विषयले पनि यो मुद्दाबारे थप प्रष्ट हुनेछ ।