News 24 Television
बाढी–पहिरोबाट १७ अर्बको क्षति, पूर्वतयारी नभएको प्रधानमन्त्रीको स्वीकारोक्ति

काठमाडौँ । सरकारलेले असोज ११ र १२ गतेको बाढी–पहिरोबाट विभिन्न जिल्लामा गरेर करिब १७ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको बताएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रारम्भिक क्षतिको जानकारी दिएका हुन् । उनका अनुसार उनका अनुसार २१ जिल्ला बाढी, पहिरो र डुबानबाट प्रभावित भएका छन् । ती जिल्लामा गरी कुल २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता र १५८ जना घाइते भएका छन् ।

प्रधानमन्त्री ओलीले उक्त त्रासदीपूर्ण बाढी–पहिरो आउने पूर्वानुमान तर पूर्वतयारी दुवै नभएको जिकिर गरेका छन् । तर मौसम पूर्वानुमान महाशाखाले उक्त पूर्वानुमान गरिसकेको थियो र सरकारले पनि सतर्क रहन निर्देशन र मोबाइलमा एसएमएसहरु पठाइरहेको थियो । तर सरकारले विपद व्यवस्थापनका लागि पूर्व तयारी भने गर्न नसकेको ओलीले स्वीकारेका छन् । 

विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो गरेको प्रधानमन्त्री ओलीले बताए । उनले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान समेत गरेका छन् । 

उनले सिंगो मुलुक विपदमा परेको भन्दै विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने भएकाले सबै मिलेर सहयोग गर्नुपर्ने बताएका हुन् । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update