ओखलढुङ्गा । विभिन्न जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हरेक वर्ष महंगा–महंगा स्वास्थ्य उपकरण खरिद गर्ने गरिन्छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भन्दै सरकारले पनि उपकरण खरिदका लागि भनेर वर्षेनी अर्बौँ रकम खर्च गर्दै आएको छ । तर, राज्यकोषबाट करोडौँ रकम खर्चेर खरिद गरिएका उपकरण पूर्ण प्रयोगमा ल्याइएका छैनन् । न त यस्ता उपकरणबाट जनताले स्वास्थ्य सुविधा पाएका छन् त ? यस्ता उपकरणको अवस्था के कस्तो छ भनि स्वास्थ्य मन्त्रालयले प्रभाकारिता बढाउन समेत खास कुनै काम गरेको देखिँदैन ।
जनताको स्वास्थ्यमा सहज पहुँच होस भन्ने उद्देश्यले केन्द्रीय सरकारले वर्षेनी करोडौं रुपैयाँका स्वास्थ्य उपकरण जिल्ला र नगर अस्पतालहरुलाई उपलब्ध गराउछ । तर, राज्यकोषको करोडौं रकमबाट खरिद गरिएका यस्ता उपकरण अधिंकाश अस्पतालमा पूर्ण प्रयोगमा आएको देखिदैन ।
स्वास्थ्य मन्त्रालयले बजेट प्रदान गरि खरिद गरिने उपकरणहरु नै वर्षौसम्म थन्क्याइएका देखिन्छन् । कमिसनको लोभमा हतार हतार हचुवाको भरमा उपकरण खरिद गर्ने र उपकरण सञ्चालनका लागि आवश्यक अन्य पक्षको ध्यान नदिने प्रवृति बढेको जनगुनासो बढ्दो छ । यसैको एउटा उदाहरणको रुपमा लिन सकिन्छ ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारमा रहेका भेन्टिलेटरसहित आईसीयू बेड ।
यस अस्पतालका लागि करिब ३ वर्ष पहिले २ वटा भेन्टिलेटर सहितको ५ वटा आईसियु बेड खरिद गरिएको थियो । केन्द्र सरकारको बजेटबाट खरिद गरिएका यि बेडलाई लामो समयसम्म त्यसै थन्क्याइयो । आवश्यक अन्य उपकरणसहित बेड जडान गरिएको पनि लामो समय भइसकेको छ । तर दक्ष जनशक्ति अभावमा यी बेड अहिलेसम्म प्रयोगमा भने ल्याउन सकिएको छैन ।
जिल्ला अस्पतालमै सुविधा सम्पन्न अप्रेसन थिएटर समेत तयारी अवस्थामा छ । तर आवश्यक जनशक्ति नहुँदा अप्रेसन थिएटर समेत आवश्यकता अनुसार नियमित रुपमा उपयोगमा ल्याउन सकिएको छैन । त्यस्तै कोरोना महामारीकै बेला खरिद गरिएको पीसिआर मेसिन लगायतका अन्य उपकरण पनि त्यसै थन्किएका छन । अस्पतालमा आवश्यक उपकरण भएर पनि त्यसको उचित ब्यवस्थापन गरि प्रयोगमा ल्याउन नसक्दा सेवाग्राहीहरु भनेजस्तो स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।
जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरु खरिदका लागि प्रदेश र केन्द्र सरकारबाट बजेट प्राप्त हुन्छन । तर उपकरण खरिद गरिएपनि त्यसलाई सञ्चालन गर्न भने सँधैजसो जनशक्ती अभाव हुन गरेको छ । तर, अस्पताल प्रशासनहरु भने पहल गर्दैछौँ भन्दै सामान्य तरिकाले समस्या पन्छ्याइरहेका देखिन्छन् ।
जिल्ला अस्पताल आम नागरिकको आवश्यकता र पहुँचको अस्पताल मानिन्छ । तर, एकै अस्पतालमा करोडौं रकमका उपकरण थक्याइदिने अनि उपकरण प्रयोगका लागि पहल गर्दै छौ भन्नु राज्यकोषमाथिको दोहन मात्रै हो । राज्यको रकम खर्च गर्ने तर जनतालाई गुणस्तरीय सेवा नदिने कार्यले नागरिकको स्वास्थ्य उपचारको हकलाई प्रभावित बनाइरहेको छ । सरकार यसतर्फ गम्भिर बनोस । उपकरण खरिदका क्रममा कमिसनको चलखेल हुने गरेको गुनासोलाई समेत सरकारले ध्यानमा राख्न आवश्यक देखिन्छ ।