News 24 Television
दर्जनौं सडक अझै अवरुद्ध, केही एकतर्फी सञ्चालन 

काठमाडौँ । बाढीपहिरोका कारण देशभरका झण्डै दुई दर्जन राजमार्गका सैयौं ठाउँमा अबरुद्ध बनेको बाटो सूचारु हुने क्रम जारी छ । बाढीपहिरोले दुई दिन संघीय राजधानी काठमाडौं जोडिने सबैजसो बाटोहरु रहे । अवरुद्ध अधिकांश सडकहरुमा पहिरो हटाएर कतै एकतर्फी र कतै दुई तर्फी नै यातायात सूचारु गरिएको छ भने केही सडकको पहिरो पन्छाउने काम चलिरहेको छ । सोमवार बेलुकासम्ममा देशैभरीका सडकहरुको अवस्था कस्तो छ त ? 

दुई दिन लगातार परेको भारीवर्षाले देशैभरको जनजीवन प्रभावित भयो । ठूलो धनजनको क्षति भयो । दुई दिन अति वर्षा हुने प्रक्षेपण गर्दै मौसम विभागले ५८ जिल्लालाई रेड अलर्टमै राखेको थियो भने नागरिकलाई सुरक्षित हुन अपिल गर्नुका साथै २ दिन रात्रीकालिन सवारी सञ्चालन नगर्न समेत अनुरोध गरेको थियो । तर शनिवार दिउँसोबाट वर्षा कम भएपछि जोखिम मानिएको सडकमा पनि सवारी सञ्चालन गरिँदा ठूलो मानवीय क्षति हुने गरी दुर्घटनाहरु भए । 

ठाउँ ठाउँमा पहिरो झरेका कारण सवारी साधनहरु ठाउँठाउँमा रोकिँदा हजारौं यात्रुहरु गन्तब्यमा पुग्न सकेनन् । २ दिनदेखि अलपत्र कतिपय यात्रुहरु हिडेरै गन्तब्यतर्फ लागिरहेका छन् । अवरुद्ध मुख्य सडकहरु एकतर्फी रुपमा सञ्चालन भएपछि चार दिनदेखि रोकिएका सवारी चल्न शुरु भएका छन् ।   

वि.पी. राजमार्ग, (मध्य पहाडी) पुष्पलाल राजमार्ग, कान्ति राजपथ, मेची राजमार्ग, अरनिको राजमार्ग, मदन भण्डारी राजमार्ग, भेरि कारिडोर लगायत विभिन्न मार्गका ३ दर्जन बढी सडक सोमबार बेलुकासम्म पनि पूर्णरुपमा नै अवरुद्ध छन् । 

कान्ती राजपथ हेटौडा–वागमती–टिकाभैरव–भैसेपाटी–एकान्तकुना खण्डको मकवानपुर आँपचौर सडक, मेची राजमार्गको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम तथा गणेशचोक –ताप्लेजुङ्ग–ओलाङचुङ्गोला खण्डको पांचथर फिदिम नजिक सडक अवरुद्ध छ । यस्तै, अरनिको राजमार्गको काठमाण्डौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी खण्डको सिन्धुपाल्चोक लार्चा सडक, भेरी करिडोरको छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम खण्डको पश्चिम रूकुम त्रिवेणी, अरनिको राजमार्गको काठमाण्डौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी खण्डको सिन्धुपाल्चोक    लिपिङ्ग ब्रिजमा सडक पूर्ण रुपमा नै अवरुद्व छ ।
 
विभिन्न राजमार्गको मुख्य सडकका साथै अन्य सहायक मार्गका दर्जनौं सडकहरु सञ्चालनमा आउन सकेका छैनन् । केही ठाउँमा सडक नै पुरै भासिएर तथा केही ठाउँका पुल नै बगाएकाले सडक पूर्ण रुपमा अवरुद्ध छ । 

राजमार्गको केही महत्वपूर्ण सडकहरु भने एकतर्फी रुपमा खुला गरिएका छन् । त्रिभुवन राजपथस्थित काठमाडौं जोड्ने हेटौडा–भैंसे–पालुङ–नौविसे खण्डको झ्याप्ले खोला तथा सिर्सिया–पथलैया सडक, पृथ्वी राजमार्गस्थित नौविसे–मुग्लिन–पोखरा खण्डको धादिङ जुवाङ खोलानजिकको पहिरो हटाएर एकतर्फी यातायात सूचारु गरिएको छ । 

हिन्दुहरुको महान चाड दशैं लक्षित गरी काठमाडौंबाट जिल्ला तथा गाउँ गाउँका लागि छुट्ने यात्रुवाहक बसका लागि अग्रिम टिकट बुकिङसमेत भइरहेको अवस्थामा अवरुद्ध सबै सडकहरु पुनर्निर्माण गर्नु पर्नेछ भने जोखिमयुक्त सडकमा सवारी सञ्चालनमा रोक लगाएर वैकल्पिक मार्गको ब्यवस्था गर्न जरुरी छ । 


 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update