News 24 Television
प्रश्न सोध्दा कड्किने प्रधानमन्त्री ओली, विमानस्थलमै हंगामा ! 

काठमाडौँ । १० दिने अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओली रुखो र असभ्य तरिकाले पेश भएका छन् । विमानस्थलमा ओलीले बाढी पहिरो र डुबानबाट भएको क्षति र जनताले पाएको दुखका प्रश्नमा रुखो र गैरजिम्मेवार जवाफ दिँदै हकार्ने शैलीमा पेश भएका छन् । 

१० दिने लामो अमेरिका भ्रमणबाट स्वदेस फर्किएका प्रधानमन्त्री केपी ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आवेगप्रेरित ढंगले पेश भए । ओलीले अमेरिका भ्रमण र नेपालले के पाउने भन्ने प्रश्नमा आफू भैसी दुहुन नगएको र विचार राखेर आएको रुखो जवाफ   दिए । 

ओलीले यतिमात्रै भनेनन्, विपदमा सरकारको क्षमता अनुसार काम गरेको दाबी गर्दै विरोधका लागि विरोध भएको दाबी पनि गरे ।

नेपालमा बाढी, पहिरो र डुबानको वितण्डा नै मच्चिएपनि अमेरिकाका औपचारिक कार्यक्रम सकेर केहिदिन घुमघाम गरेका ओलीलाई सोध्ने प्रश्नहरु स्वभाविक कडा थिए । तर, ती प्रश्नको जवाफ कुटिल ढंगले दिदै जनताप्रति उत्तरदायी बन्छु भन्नुपर्नेमा उनले उल्टै हकार्ने शैलीमा पेश भए । मौसम पूर्वानुमान महाशाखाले पुर्ववत जानकारी गराउदा पनि सरकारी तयारी फितलो भयो भन्ने प्रश्नमा झन उनी असभ्य पेश भए । आक्रोशित बनेका ओलीले वर्षाको जानकारी भएपनि पहिरो कहाँ आउँछ भनेर जानकारी नभएको छुद्र जवाफ दिए । 

उसोतः प्रधानमन्त्री ओली स्वदेश फिर्ता हुँदा अन्तराष्ट्रिय विमानस्थल भद्रगोल स्थितिमा पुगेको छ । झण्डै आधा घण्टा विमानस्थलमा भीडभाड बढेको र उडान अवतरण समेत प्रभावित भएको बताइएको छ । 

यस्तै, यसरी विमानस्थलमा पत्रकारसँगको समय व्यतित गरेका ओलीलाई अब मुलुकको जर्जर अवस्थाबाट बाहिर निकाल्ने जिम्मेवारी भने आइपरेको छ । राजधानी जोड्ने राजमार्गहरु क्षतविक्षत बनेका छन् । धनजनको क्षति त्यस्तैछ । दशैं नजिकिएको छ । तर, मानिसहरुले सरकारबाट के अपेक्षा गर्ने स्थिति बन्ला ? यो आमचासोको विषय बनेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update