News 24 Television
हिजबुल्लाह लक्षित आक्रमणले मध्यपूर्वमा चुलिँदै तनाव 

काठमाडौँ । इजरेलले लेबननको लडाकु समूह हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको हत्या गरिदिएपछि विद्यमान तनाव चुलिएको छ । यो घटनाबाट उक्त क्षेत्रमा द्वन्द्व अझ चर्किन सक्ने र त्यसमा अमेरिका तथा इरान पनि तानिन सक्ने आकलन गरिएको छ । परिणामस्वरुप इजरायली सेनाले लेबनानमा हिजबुल्लाह समूहलक्षित आक्रमण जारी राखेको छ । 

इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका प्रमुख हसन नसरुल्लाह मारिएपछि पनि इजरायली सेनाले लेबनानमा हिजबुल्लाह समूहलक्षित आक्रमण जारी राखेको छ । शुक्रबार इजरायलले गरेको आक्रमणमा परेर हसन नसरल्लाह मारिएपछि हिजबुल्लाहले छिट्टै आफ्ना नेता चयन गर्ने जनाएको छ । हिज्बुल्लाहका नेतामाथि घातक आक्रमण गर्नु केही दिनअघि इजरेली सेनाका प्रमुखले लेबननमा आफ्नो फौज प्रवेश गर्ने सम्भावना रहेको भन्दै त्यसको तयारीका लागि अहिले त्यहाँ हवाई आक्रमण गरिएको बताएका थिए । 

इजरायल र लेबननबीच अहिले चुलिएको तनावले १८ वर्षअघि दुई देशबीच भएको लडाइँको स्मरण गराइदिएको छ । जस बेला लेबननको भूमिमा इजरेली सेनाले स्थल कारबाही थालेपछि निरन्तर हवाई आक्रमण पनि गरेको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा ठूलो क्षति हुने गरी अप्रत्याशित आक्रमण गरेपछि लडाकु समूह हिज्बुल्लाहले पनि दक्षिणी लेबननबाट इजरेलमा आक्रमण सुरु गरेका थिए । 

त्यसपछिको एक वर्ष दुवै पक्षबाट निरन्तर आक्रमणहरू भएका छन् । हिज्बुल्लाहसँग सङ्घर्ष बढ्दै गएपछि उत्तरी इजरेलका सर्वसाधारणहरु ६० हजार मानिस विस्थापित भएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उनीहरूलाई सुरक्षित घरमा फर्किने वातावरण बनाउने वाचा गरेका छन् । स्थानीयवासीहरूका निम्ति चुनौतीको रूपमा देखिएको हिज्बुल्लाहको गतिविधि रोक्न इजरायल कुनै न कुनै स्वरूपमा लेबननको भूमिमा प्रवेश गर्न चाहन्छ भन्ने स्पष्ट सङ्केत देखिससेको छ । 

यसअघि सेप्टेम्बर २३ को सोमवार दुई पक्षबीचको द्वन्द्व निकै जटिल चरणमा प्रवेश गरेको थियो । इजरेलले लेबननका विभिन्न स्थानमा हवाई हमला गर्दा कम्तीमा ५५० जनाको ज्यान गएको थियो । इजरेलले ती स्थान हिज्बुल्लाहसँग सम्बन्धित भएको दाबी गरेको थियो । लेबननको स्वास्थ्य निकायले मारिनेमा महिला, बालबालिका र स्वास्थ्यकर्मीसहित दर्जनौँ सर्वसाधारण नागरिक रहेको जनाएको छ । हवाई आक्रमण जारी रहँदा कैयौँ विश्लेषकहरूले इजरेलले स्थलसेना पनि लेबनन पठाउने आकंलन गरेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update