काठमाडौँ । व्यावसायिक यात्राको ६ वर्ष पूरा गर्दै गर्दा पठाओ नेपाल लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म बनेको छ । सन् २०१८ सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङमार्फत सेवा सुरु गरेको पठाओ नेपाल प्रालिले सन् २०१९ अगष्ट ९ देखि कार अर्थात् ट्याक्सी सेवाको सुरुआत गरेको थियो ।
अब पठाओ नेपाल सुपर एप बन्ने योजनामा रहेको छ । त्यसका लागि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ । कम्पनीले राइड सेयरिङ, फूड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेकाले अब ‘पठाओ किराना’, ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा सुरुवातु गर्ने भएको छ ।
कम्पनीका अनुसार पठाओ किरानाअन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछ । पठाओ एपको बजार सेक्सनभित्र किरानाको सेवा उपलब्ध हुने जनाइएको छ ।
पठाओ खाजा घरमार्फत स्थानीय खाना पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ । बिक्रेताहरु भने पठाओ किराना र पठाओ खाजा घरमा आबद्ध हुनका लागि अनिवार्य प्यानमा दर्ता भएको हुनुपर्नेछ । बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ । पठाओ किराना र पठाओ खाजा घर सुरुवातमा साधारण रुपमा सञ्चालन हुनेछन् तर पठाओले एक वर्षभित्र पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बनाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले वार्षिकोत्सवका अवसरमा ग्राहकको मनोरञ्जनका लागि पठाओ गेम्स सेवा पनि ल्याएको छ । उक्त गेम्स खेल्ने ग्राहकले प्वाइन्ट्सका आधारमा गिफ्ट र पठाओका सेवामा छुट पाउन सक्नेछन् । थप गरिएका सेवाहरु हाललाई काठमाडौँ उपत्यकामा मात्र उपलब्ध हुनेछन् ।