News 24 Television
नेपालको इन्जिनियरिङ विश्वमै अब्बल, सस्तोमा राम्रो पढ्ने अवसर

काठमाडौँ । नेपालमा इन्जिनियरिङ विषयको पढाईको गुणस्तर दक्षिण एसियामा नै राम्रो मानिएको छ । तर, विश्वस्तरीय गुणस्तर भएको नेपालको इन्जिनियरिङ पढाईबारे न त नेपालकै विद्यार्थीलाई राम्रो जानकारी गराइएको छ, न त विदेशी विद्यार्थी आकर्षित गरिएको छ । उल्टै नेपालका विद्यार्थी इन्जिनियरिङ पढ्नका लागि विदेश रोजिरहेका छन् । 

विद्यालयस्तरीय पढाइ सकिएपछि धेरै विद्यार्थीले विदेश रोज्ने प्रवृति बढ्दो छ । गुणस्तरीय शिक्षा र आर्थिक  आर्जन सहजताका लागि विदेशमा अध्ययन गर्न जाने क्रम बढिरहेको छ । तर, शिक्षाको गुणस्तरकै कुरा गर्दा नेपालमा इजिनियरिङ विधाको पढाई दक्षिण एसियामै उत्कृष्ट मानिन्छ । नेपालमा इन्जिनियरिङ पढाईको गुणस्तर विश्वस्तरीय छ । तर, पनि राज्यले यसको सहि प्रचार गर्न सकेको छैन । राम्रो गुणस्तर भएकाले विदेशबाट नेपालमा इन्जिनियरिङ पढ्ने विद्यार्थी आउनु पर्ने हो, तर, नेपालकै विद्यार्थी विदेशतर्फ लोभिएको देखिन्छ । इन्जिनियरिङ गर्न खोज्ने विद्यार्थीका लागि नेपालमा गुणस्तरीय शिक्षाका साथै सस्तोमा पठनपाठन गर्न सकिने थुप्रै अवसरहरु रहेका छन् । नेपालमा गरिने अध्ययन र पढाइलाई राम्रोसँग नबुझी बाहिरै मात्र जान खोज्ने विद्यार्थीको जमातका कारण नेपालको गुणस्तरीय शिक्षा समेत ओझोलमा पर्ने गरेको छ ।

नेपालको पढाई भन्दा विदेशमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने सोच अहिले अधिंकाश विद्यार्थीमा हावी देखिन्छ । तर यो सोच गलत भएको नेपालमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको भनाई छ । 

नेपालमा हाल ६ वटा विश्वविद्यालय मातहत ५१ वटा इन्जिनियरिङ कलेज रहेका छन् । यी कलेजमा विभिन्न १४ वटा विधामा पठनपाठन हुनेगरेका छन् । इन्जिनियरिङ विषय महँगो विषय भित्र पर्दछ । तर, जेहेन्दार विद्यार्थीका लागि नेपालमा पूर्ण तथा आंशीक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । इन्जिनियरिङका विभिन्न विषय अनुसार यसको शुल्क निर्धारण गरिएको हुन्छ । तर स्नातक तहमा इन्जिनियरिङ अध्ययनका लागि नेपालमा ८ सेमेस्टर अर्थात ४ वर्षका लागि ८ लाख देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ । 

तर यहि विषय भारत तथा अन्य मुलकमा गर्ने भने देखि २० देखि २५ लाख सम्म तिर्नुपर्ने हुन्छ । यसरी नेपालमा गुणस्तर शिक्षा सर्र्वसुलभ रुपमा पढ्न पाइने भएता इन्जिनियरिङ विषय मात्र नभएर विभिन्न विषय पढ्न भन्दै पछिल्लो समय विद्यार्थी विदेश पलायन हुने गरेका छन् । नेपालमा शिक्षाको गुणस्तर थप बढाउँदै गुणस्तरीय क्षेत्रमा नेपालका विद्यार्थीलाई आकर्षित गर्ने र विदेशी विद्यार्थीसम्म आकर्षणका आधार पु¥याउन सरकारले प्रभाकारी योजना ल्याउन आवश्यक देखिन्छ । 


 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update