
काठमाडौँ । बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत आसपासका जिल्ला र पूर्वी भेगका जिल्लामा ठूलो धनजनको क्षति भएपछि सरकार यतिखेर आलोचनाको केन्द्रमा छ । शुक्रबार र शनिबार विभिन्न जिल्लामा बाढी–पहिरोका कारण करिब २ सय नागरिकको मृत्यु भयो भने दर्जनौँ बेपत्ता भए । त्यति नै हाराहारीमा घाइते भए । ठूला राजमार्ग, हाइड्रो पावर, पक्की पुल, घर लगायत संरचना बग्दा अर्बौंको भौतिक क्षति भएको छ । तर पूर्वानुमान र जानकारी हुँदाहुँदै भएको यो अकल्पनीय क्षतिमा राज्य संयन्त्रकै लापरवाही मुख्य दोषी देखिन्छ । मुलुकका कार्यकारी प्रधानमन्त्री अमेरिकामा रहनु र कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्रीलगायतले राज्य संयन्त्रलाई प्रभावकारी ढंगले चलाउन नसक्नुको परिणाम स्वरुप तत्काल उद्धार गर्न सकिने अवस्थाका नागरिकले समेत मृत्युवरण गर्नुप¥यो । विपदपछि सरकारको अर्कमण्यतामाथि सत्तारुढ दलदेखि विपक्षी दल र आम नागरिकले प्रश्न उठाएपछि गृहमन्त्री भने आफू जोगिनका लागि सिडिओ र एसपी सरुवा गर्दै बसेका छन् ।
आइतबार गृहमन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्र पाण्डेलाई गृहमन्त्रालयमा सरुवा गरी उनको ठाउँमा सुमन घिमिरेलाई पठाउने निर्णय ग¥यो । सोमबार जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई पनि जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानियो र उनको सट्टा एसपी दीपेन्द्र शाहीलाई जिम्मेवारीमा खटाइएको छ । यसैगरी काभ्रेका सिडिओ सूर्यप्रसाद सेढाईंलाई पनि फिर्ता गरेर सट्टामा रमेश ढकाललाई पठाइएको छ । विपदमा सन्तोषजनक काम गर्न नसकेको भन्दै मातहतका अधिकारीलाई कारबाही गर्ने गृहमन्त्रालयले आफ्नो कमजोरीमा पनि पछुतोसम्म मानेको देखिँदैन । खासमा भन्ने हो भने गृहमन्त्रीजस्तो मान्छेले आफ्नो कमाण्ड नै असफल भएको ठानेर राजीनामा दिनुपर्ने हो । राजधानीमै बाढीमा बगेकाहरुलाई स्वयंसेवी युवाले बचाउँदा सिंहदरबारमा गृहमन्त्रीले बचाउन नसकेको अभिव्यक्ति दिनु नै उनको अर्कमण्यता झल्काउन पर्याप्त थियो ।
राजधानीबाट २–३ किमि मात्र तल रहेको धादिङको झ्याप्ले खोलामा सबैभन्दा ठूलो मानवीय क्षति भयो । सानो पहिरोका कारण रातभर जाममा फसेका सवारी साधनहरु शनिबार बिहानै खसेको अर्को ठूलो पहिरोमा पुरिँदा ३५ यात्रुको मृत्यु भयो भने आधा दर्जन सवारी साधन पुरिएर क्षतिग्रस्त भए । उनीहरुको उद्धारमा समेत ढिलाइ भयो, शनिबार बिहानदेखि पुरिएका उनीहरुको आइतबार मात्रै उत्खनन गरियो । शुक्रबारै बेलुका खसेको सानो पहिरो पन्छाइदिएको भए त्यति धेरै सवारीसाधन रातभर बाटोमा अड्किनुपर्ने थिएन, या त सिस्नेखोलाको सुरुङमार्ग प्रयोग गरी उद्धार गरेको भए पनि उक्त क्षति रोक्न सकिने थियो । यो भन्दा ठूलो लापरवाही के हुनसक्छ ? काठमाडौँ जोड्ने मुख्य राष्ट्रिय राजमार्गमा भएको उक्त घटनामा सिडिओ र एसपी मात्र हैन, थानकोट प्रहरी पोस्टदेखि सडक विभाग र गृहमन्त्रालयसम्मै सबै दोषी ठहरिन्छन् । काभ्रेका सिडिओ भने विपद पूर्वसूचना जारी हुँदा पनि जिल्ला छाडेर बाहिर गएका थिए । जसकारण काभ्रेका तेमाल लगायत स्थानमा पुरिएका व्यक्तिको खोजीकार्य सोमबार मात्रै सुरु भयो ।
प्रधानमन्त्री ओली देशबाहिर हुँदा सरकारको कमाण्ड कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री लेखककै हातमा थियो । उनीहरुले प्रभावकारी कदम चाल्न नसक्दा र ओलीले पनि कमसेकम भिडियो ब्रिफिङमार्फत तत्काल आवश्यक एक्सनका लागि निर्देशन दिन नसक्दा राज्य सुतेसरह देखियो । ढिलो गरिएको उद्धार र राहत वितरणका निर्णयले जनधनको क्षतिपूर्ति हुन सक्दैन । पूर्वतयारी बलियो भएको भए क्षति न्यूनीकरण गर्न पक्कै सकिन्थ्यो । यति गर्न नसकेपछि कम्तीमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिन सक्नुपर्छ । या त पार्टीले नै निर्णय गरेर उनलाई फिर्ता बोलाउन सक्नुपर्छ । प्रधानमन्त्री ओली पनि खासै महत्वपूर्ण कार्यक्रम नहुँदा पनि अमेरिकामै अल्झेर बस्न सुहाँदैनथ्यो । उनी २ दिन भ्रमण छोट्याएर भए पनि छिटो स्वदेश फर्कन सक्थे, तर ओलीमा पनि नैतिकता र संवेदनशीलता देखिएन । देश र जनता विपत्तिमा परेका बेला उनले फेसबुकमा स्टाटस लेख्दै सहानुभूति दिनेबाहेक केही गर्न जानेनन् । विपदको पूर्व जानकारी भइसकेपछि सबै निकाय र संयन्त्रलाई अलर्ट राख्नसक्ने गरी प्रधानमन्त्रीले उतैबाट समेत निर्देशन दिन सक्थे, तर त्यो पनि भएन ।
यी घटनाक्रमले प्रस्ट पार्छ कि दुई तिहाइको सरकार हुनु र अल्पमतको सरकार हुनुमा कुनै भिन्नता देखिएन । अझ प्रधानमन्त्री, गृहमन्त्रीजस्ता मान्छेमा संवेदनशीलता र देश तथा जनताप्रतिको प्राथमिकता झल्किएन । प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा देशबाहिर रहेको भन्न सकिएला तर सिंहदरबारमै भएका गृहमन्त्री र कावा प्रधानमन्त्रीले भने नैतिकता सम्झेर, आफूहरु चुक्यौँ, सकेनौँ भनेर राजीनामा दिन किन मिल्दैन ? सभ्य देशमा त मिल्थ्यो तर नेपालमा जसरीतसरी पाएको सत्ता अनि पद छाड्न सजिलै कहाँ मिल्छ र ?