काठमाडाैँ । नेपाल रेडक्रस सोसाइटीले बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्वयंसेवक परिचालन गरेको छ । दुई दिन लगातार परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा आएको बाढी, पहिरामा परेकाहरुको उद्धार र राहतको लागि स्वयंसेवक परिचालन गरेको हो ।
शनिवारदेखि बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि रेडक्रम सोसाइटीका स्वयंसेवक परिचालन गरेको सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले बताए । उनले रेडक्रस सोसाइटीले विपद्मा पर्नेहरुलाई स्थानीय सरकारसँगको सहकार्यमा राहत र उद्धारमा परिचालित भएको बताए । उनले देशभर बाढी, पहिरो प्रभावित क्षेत्रमा परिचालन हुन मातहतका सबै स्वयंसेवकहरुलाई अपिल गरे ।
रेडक्रस सोसाइटीले विपद्पूर्व सूचना दिने र विपदमा उद्धार तथा राहतको काम गर्दै आएको उनले जानकारी दिए । अहिलेको अविरल वर्षाको कारण परेको विपदमा पनि काठमाडौं उपत्यकासहित देशभर राहत र उद्धारमा खटिएको बताउँदै उनले विभिन्न जिल्लाबाट रातहको माग भइरहेकोले पायक पर्ने ठाउँबाट राहत वितरण गरिरहेको बताए ।
विपद्का विषयमा सबै जिल्लाहरुका फोनमार्फत विवरणहरु संकलन गरी उद्धार राहतको लागि टोली परिचालन गरिएको उनकाे भनाइ छ । उनले आज धेरै जिल्लाबाट राहतको माग भइरहेको बताए । रेडक्रसले पहिला नै विपद् आइपर्ने अवस्थालाई ध्यान दिएर राहत सामग्री विभिन्न जिल्लामा पठाएकाले समयमा नै राहत वितरण गर्न सकेकाे उनकाे दाबी छ ।