काठमाडौं । आन्तरिकतर्फको भाडादर चुलिएपछि यात्रुहरु मारमा पर्न थालेका छन् । आन्तरिक उडान भर्ने निजी विमान कम्पनीहरुले उच्च मूल्यमा मात्रै टिकट उपलब्ध हुने गरि टिकट अकुपेन्सी बढाएपछि सर्वत्र विरोध हुन थालेको छ । यसबारे प्रधानमन्त्री केपी ओलीले समेत चासो राखेका छन् ।
काठमाडौं विमानस्थलबाट मुलुकका विभिन्न विमानस्थलहरुमा नियमित उडान हुने गर्छ । मुख्य सहर र सुगमका विमानस्थलहरुमा विमान कम्पनीहरुले उडान भर्ने गर्छन् ।
काठमाडौंबाट पोखरा, नेपालगञ्ज, चितवन, भैरहवा, धनगढी, सुर्खेत, भद्रपुर, विराटनगर, निजगढ र तुम्लिङटार लगायत विमानस्थलमा एटीआर विमानहरुले उडान भर्ने गर्छन् । भने अन्य पहाडी जिल्लाका छोटो रनवे भएको विमानस्थलमा नेपाल एयरलाइन्सबाहेक यति र समिट एयरले उडान भर्ने गर्छन् । तर, नाफामुखीबाहेकका रुटमा विमानहरु जान मान्दैनन् ।
यस्तोमा अविरल परेको बर्षापछि बाढी, पहिरो र डुबानका कारण सडकमार्ग अवरुद्ध बनेपछि हवाई कम्पनीहरुले अधिकतम भाडादरबाहेकका टिकट उपलब्ध गराउने गरि काम गरेका छैनन् ।
टिकट बेचिसकेपछि चलाखी
विमान कम्पनीहरुले असोज १६ गतेसम्म टिकटको मूल्य माथिल्लो दरमा नलैजाने निर्णय गरेका छन् । उनीहरुले यस्तो निर्णय गर्नुअघि नै असोज १६ गतेसम्मको टिकट अधिकांश पाइन्न ।
विभिन्न रुटको टिकट असोज १६ सम्म खाली नभएको देखिन्छ भने केहि स्थानमा भने टिकट उपलब्ध रहेको छ ।
प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री केपी ओलीले आन्तरिकतर्फको हवाई भाडादर सकेसम्म ५० प्रतिशत वा न्यूनतम भाडादर कायम राखेर यात्रुलाई सेवा दिन अमेरिकाबाट फेसबुकमार्फत अपिल गरेका छन् ।
ओलीले गरेको अपिलपछि निजी विमान कम्पनीहरुले अधिकतम भाडामा सामान्य हेरफेर गर्नेबाहेकका कदम चाल्ने स्थिति भने देखिएको छैन् । नियमित उडानबाहेकका थप उडान थप्ने र यात्रुलाई सहज सेवा दिनेभन्दा पनि नाफामुखी ढंगले विमान कम्पनीहरुले कदम चालेपछि सरकारले चासो राखेको छ । तर, यसबारे सुनुवाई होला ? प्रश्न र संसय बने कायमै छ ।
सर्वसाधारणको गुनासो
सडकमार्ग अवरुद्ध बनेपछि सर्वसाधारणले नजिकको विमानस्थललाई केन्द्र बनाएर हवाई यात्रा रोज्ने सामान्य विषय हो । तर, हवाई कम्पनीहरुले टिकट अधिकतम दरमा राखेर समस्यामा व्यापार गर्न थालेका छन् ।
यस्तो स्थिति देखिएपछि सर्वसाधारणले न्यूनतम भाडादरमा सेवा पाउनुपर्ने आवाज उठाइरहेका छन् भने उनीहरुले विमान कम्पनीहरुले अधिकतम भाडा अशुल्ने गरि जनतामाथि समस्यामा पनि आर्थिक भार थोपरेको ारोप लगाइरहेका छन् ।
विमान कम्पनीको दाबी छुट्टै
विामन कम्पनीहरुले भने भाडादर न्यूनतम र अधिकतम कायम गर्ने सरकारी नियमाुसार नै टिकट अकुपेन्सी बढेपछि भाडादर आफै बढ्ने र त्यसको नियन्त्रण अस्वभाविक रहेको दाबी गरिरहेका छन् ।
अहिले सस्तो टिटक सकिएपछि महंगो टिकट डिस्प्ले हुन थालेको उनीहरुको दाबी छ । तर, आहतमा परेका सर्वसाधारणलाई सेवा दिने विषयमा भने उनीहरुको खास प्रतिक्रिया आएको देखिन्न ।
निजी विमान कम्पनीको रजगज
नेपालमा निजी विमान कम्पनीमा बुद्ध एयरलाइन्स, यति एयरलाइन्स, श्री एयरलाइन्स अहिले सञ्चालनमा छन् । यी विमान कम्पनीहरुले विभिन्न क्षेत्रमा उडान भर्ने गर्छन् । तर भाडादर भने अधिकतम र न्यूनतमको सीमाभित्र रहेर उनीहरुले यात्रुको चाप हुने अवस्थालाई केन्द्रमा राखेर काम गर्ने गर्छन् ।
उसोतः अहिले दशैं नजिकिएकाले पनि भाडादर महंगो पर्न गएको दाबी पाइन्छ, दशैं आउन धेरै समय बाँकी भएपनि सडकमार्ग अवरुद्ध बन्दा निजी विमान कम्पनीहरुले रजगज मच्चाउन थालेका छन् ।
सामाजिक उत्तरदायित्वको प्रश्न
विमान कम्पनी हुन वा अन्य कम्पनी नै, उनिहरुले राज्यको कानून अनिवार्य पालना गर्नुपर्छ । कानूनको पालनासँगै नाफामुखी कम्पनीको पनि सामाजिक उत्तरदायित्व उत्तिकै हुन्छ ।
यस्तोमा सडकमार्ग अवरुद्ध बन्दा सर्वसाधारणलाई परेको मारलाई न्यूनिकरण गर्न विमान कम्पनीले न्यूनतम भाडादरभन्दा माथि नलिने वा केहिप्रतिशत कम गरेर लिन सक्ने समेत स्थिति छ । तर, उनीहरु संकटमा नाफा आर्जन गर्ने ध्येय पालेका कारण यस्तो गर्लान ? प्रश्न छ ।