News 24 Television
 कास्कीमा देखिए सयौं संक्रमित, हुनसक्छ महामारी !

कास्की । कास्कीमा डेङ्गीको संक्रमण ह्वातै बढेको छ । ज्यान समेत लिन सक्ने डेङ्गी संक्रमणबाट असोज महिनामा मात्र ५ सय ५५ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

दिनानुदिन संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि अहिले कास्कीका अस्पतालहरुमा डेङ्गीका विरामीको चाप बढ्दो छ । कास्कीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीका बिरामी बढेका छन् । अघिल्ला महिनामा केही व्यक्तिमा मात्रै देखिएको डेङ्गी संक्रमण असोज महिनामा उच्च संख्यामा बढेको छ । 

स्वास्थ्य कार्यालय कास्कीको तथ्यांक हेर्ने हो भने केही समय अगाडीसम्म महिनामा औषतमा १० जनामा डेङ्गी संक्रमण देखिएपनि असोज महिनासम्म आईपुग्दा यो संख्या बढेर ५ सय ५५ जनासम्म पुगेको छ । 

यो तथ्यांक कास्कीमा रहेका अस्पतालले अनलाइन रेकर्ड सिस्टममा चढाएको डाटाको मात्र हो, अस्पतालले तत्कालै रेकर्ड सिस्टममा नहाल्ने हुँदा कास्कीमा यो भन्दा अझ धेरै जना डेङ्गीका बिरामी देखिन सक्ने स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । 

डेङ्गी  रोग मानिसबाट मानिसमा सोझै सर्दैन र जुनसुकै लामखुट्टेको टोकाइबाट पनि सर्दैन, यो एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेङ्गीबाट  बच्ने उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु र लामखुट्टेको वृद्धि विकास हुने स्थान नष्ट गर्नु रहेको चिकित्सकहरु बताउँछन् ।

कास्कीमा डेङ्गीले अघिल्ला दुई वर्ष निकै भयावह रुप लिएको थियो, धेरै जनामा संक्रमण देखिएको थियो भने डेङ्गीकै  कारण केहीले ज्यान समेत गुमाउनु पर्यो । यस वर्ष पनि भयावह रुप नलेला भन्न नसकिने हुँदा ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्दै यसको न्यूनीकरण गर्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

कुनैपनि रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु उत्तम मानिन्छ । दिनानुदिन डेङ्गी संक्रमितको संख्यामा वृद्धि हुनु भनेको सचेतनाको कमी र सजगता नअपआउनु हो । 

लामखुट्टेले टोकेर डेङ्गीको लक्षण देखिसकेपछिको ७ देखि १० दिनको समयलाई निकै खतरा मानिन्छ । सकेसम्म लामखुट्टेको टोकाईबाट बच्नु पर्ने र पानी जम्ने स्थानलाई नष्ट गरि लामखुट्टेको वृद्धि रोक्नु पर्ने चिकित्सकहरु सुझाउछन् । 

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्ने हो भने डेङ्गी संक्रमण संख्या र संक्रमित देशको संख्या अपत्यारिलो तरिकाले उच्च रुपमा वृद्धि हुँदै गइरहेको छ । 

नेपालमा विशेषगरि साउन, भदौ र असोज महिना उच्च जोखिमको महिना हो, यस समयमा संक्रमण छिटो फैलिने तथा अवस्था जटिल बन्दै मृत्युको कारक बन्न सक्छ । 

त्यसमाथी महामारीकोरुपमा फैलिदै गएको डेङ्गी विरुद्धको खोप अहिलेसम्म उपलब्ध हुन सकेको छैन । तसर्थ बेलैमा यस विषयमा सजगता अपनाउन सकिएन भने फैलिदै गएको डेङ्गीले जटिल महामारीको रुप नलेला भन्न सकिन्न । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update