काठमाडौं । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेछौं भन्दै २०७७ सालमा तामझामका साथ शिलान्याश गरिएका अस्पताल अहिलेसम्म पनि निर्माण पुरा भएका छैनन् ।
तत्कालीन समयमा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले नै शिलान्याश गरेका थिए । अहिले उनै ओली प्रधानमन्त्री छन् । चार वर्षसम्म पनि नबनाइएका अस्पताल यस कार्यकालमा बनाउन सफल होलान् त ओली ?
दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने भन्दै २०७७ साल आर्थात ४ वर्ष पहिले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर आधारभूत अस्पताल निर्माण गर्ने योजना सार्वजनिक गरेका थिए ।
यस पहिले २०७७ सालमा प्रधानमन्त्री बनेका समय ओलीले यो योजना अघि सारेका थिए । योजना अनुसार उनले देशभरका ३ सय ९६ वटा अस्पतालको शिलान्यास पनि गरे । तर, दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनिएका अस्पतालहरु चार वर्ष भइसक्दा पनि अधुरा छन् । कतिपय ठाउँमा त निर्माणकालागि प्रारम्भिक प्रकृया समेत सम्पन्न भएको छैन ।
०७७÷७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० र १५ शैयासम्मका आधारभूत अस्पताल निर्माण गर्ने योजना बनाएको थियो । जस अनुरुप ६ सय ५७ वटा पालिकामा आधारभूत अस्पताल बनाउने योजना सहित ३ सय ९६ अस्पतालहरुको शिलान्यास समेत गरिएको थियो ।
तोकेको समय सकिएको दुई वर्ष वित्दा पनि अवस्था यस्तो !
– दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने योजननासहित शिलान्यास गरिएका कुल अस्पताल मध्ये नौ वटा मात्र निर्माण सम्पन्न भई ठेकेदारबाट सम्बन्धित पालिकालाई हस्तान्तरण
– स्थानीय तहले बाँकी ४० वटा अस्पताल निर्माणको अन्तिम भुक्तानी दिइसके
– तरपनि, सम्बन्धित पालिकालाई गरिएको छैन हस्तान्तरण
– शिलान्यास गरिएका कतिपय अस्पताल आधा निर्माणमै काम रोक्का
– आधा निर्माण गरि छोडिएका अस्पतालका भवन पछि निर्माण पूरा गर्दा भवनको गुणस्तरता ह्रास आउँने जोखिम
२०७७ साउन २८ गते ३ सय ९६ वटा अस्पताल तथा २०७८ मा थप २ सय ५९ आधारभूत अस्पताल बनाउने घोषणा सरकारले गरेको थियो ।
योजना अनुसार ०७७ मंसिर १५ गते ३ तामझामका साथ एकै पटक ३ सय ९६ वटा अस्पतालको शिलान्यास गरिएको थियो ।
अस्पताल निर्माणका लागि विनियोजन गरिएको रकम
पाँच शैयाका अस्पताल निर्माणका लागि रु. सात करोड ११ लाख
१० शैयाका अस्पताल निर्माणका लागि रु. १० करोड ८३ लाख
१५ शैयाका अस्पताल निर्माणका लागि रु. १८ करोड ६ लाख
यो बाहेक पनि २ सय ५९ वटा अस्पताल पनि सरकारले बनाउने निर्णय गरेको थियो । सरकारको नीतिगत निर्णयका आधारमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको मन्त्रीस्तरीय निर्णयबाट २ सय ५९ अस्पताल थप थरिएको थियो ।
तर ४ वर्ष सम्म ३ सय ९६ अस्पतालमध्ये ३ सय २३ र २ सय ५९ मध्ये ९८ अस्पताल निर्माणाधीन रहेका छन् भने कुल ४ सय २१ अस्पतालको निर्माण कार्य नै सरु भएकै छैनन् । तत्कालीन समयमा प्रधानमन्त्री बनेर शिलान्यास गर्न अग्रसर बनेका ओली पुनः मुलकको प्रधानमन्त्री पदमा छन् ।
तत्कालीन समयमा आफैले शिलान्यास गरेका आधारभूत अस्पतालको निर्माण कार्यलाई यस कार्यकालमा ओलीले पुरा गर्ने क्षमता राख्लान् वा नराख्लान् ? त्यो उनले भावि दिनमा चाल्ने कदमले प्रष्ट्याउने छ ।