काठमाडौं । विपत्को समयमा मानिसले पहिला आफूलाई सम्झिन्छ, त्यसपछि आफ्नो परिवारलाई । खतरा कम हुँदा गर्दा आफन्त र साथिहरूलाई सम्झन्छ । यो मानवीय स्वभाव नै हो । तर, समाजमा यस्ता केही उदाहारणीय पात्र छन् जसले आफू भन्दामाथि अरुलाई राख्छन् ।
त्यसका उदहारण हुन्, काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका चणिकलाल तामाङ । शनिवारदेखि हरेकले तामाङलाई धन्यवाद दिइरहेका छन् । उनी त्यो सम्मानको हकदार पनि हुन् ।
तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए ।
टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए । प्रशासनिक केन्द्र सिंहदरबारले समेत हार मानिसकेको अवस्थामा तामाङले उर्लँदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरे ।
दुई जनाको जीवन बचाएका तामाङलाई सर्वसाधारण नागरिकले देखि राजनीतिक दलका नेताहरूले पनि ‘साहसी युवा’ को उपमा दिँदै सम्मान व्यक्ति गरिरहेका छन् ।
यसैबीचमा पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा बोलाएर सङ्कटको बेला नै बहादुरहरूको जन्म हुने भन्दै तामाङलाई ‘साहसी युवा’को रूपमा धन्यवाद व्यक्त गरे । त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता सदन किरातीले डम्फु दिएर सम्मानित गरेका छन् ।
तामाङलाई महालक्ष्मी बिकास बैंकले रु. एक लाख सहित सम्मान गरेको छ । जति पनि सम्मान स्वरूप प्राप्त रकम उनले बाढी पीडितलाई दिने घोषणा गरेका छन् । सुगम बस्ती नाम गरेको राजधानीको एउटा टोल, जहाँ राज्यको आपतकालीन सेवा दुर्गम बन्न गयो, त्यही ३३ वर्षीय चणिकलाल तामाङले मानवीय सहायता प्रदान गरे ।
आफ्नो जीवनको प्रवाह नगरी अरुको जीवन बचाउने जोखिम उठाए । सरकार उदासीन भएको ठाउँमा पनि जिम्मेवार नागरिकले आफ्नो कर्तव्य पूरा गर्न सक्छन् भन्ने उदाहरण पेश गरेका छन् ।