काठमाडौं । सहकारी ठगी प्रकरणमाथिको संसदीय छानविन विषेश समितिले गोरखा मिडिया प्रालिका तत्कालीन संचालकहरु जिबी राई, छविलाल जोशी र रवि लामिछानेलाई कारवाही गर्न सिपफारिस गरेको थियो । तर ती पात्रहरुमाथि कारवाही चलाउन सरकार सफल भइसकेको छैन ।
छानविन समितिकै प्रतिवेदनका आधारमा संचालकहरुमध्ये पूर्व डीआइजीसमेत रहेका छविलाल जोशी भने प्रहरी नियन्त्रणमा छन् । यद्यपि फरार रहेका जिबी खोजी सूचीमा रहँदा राजनीतिमै रहेका रवि भने पक्राउ परेका छैनन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछाने जुनसुकै बेला पक्राउ पर्नसक्ने धेरैको बुझाइ छ । तरपनि रविले भने सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको पुष्टि भइसकेको दावी गर्ने गरेका छन् ।
गत आइतबार छवि पक्राउ परेपछि रवि पनि तत्काल पक्राउ पर्नसक्ने आशंका थियो । जसले सिंगो रास्वपालाई नै तरङ्गित बनायो । बाग्मती प्रदेश कमिटीबाटै तत्काल पार्टी कार्यालयमा आउन उर्दी गरिएपछि रास्वपाका नेता तथा कार्यकताहरु चःमतीमा भेला भए । तर रवि भने पक्राउ परेनन् । यद्यपि पक्राउ परेका छविले रविलाई पोल्नसक्ने र जुनसुकै बेला रवि पनि अनुसन्धानमा तानिनसक्ने संभावना जिवितै छ ।
छानविन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट ६५ करोड रकम गोरखा मिडिया प्रालिमा आएको निश्कर्ष छ ।
उक्त रकम रविमार्फत पनि खर्च भएका कारण उनीमथि कारवाही हुनुपर्ने समितिको ठहर छ । जसलाई रविले पनि स्वीकारेका छन् । तर सहकारीबाटै रकम ल्याउनमा भने आफ्नो संलग्नता नरहेको रविको प्रष्टिकरण छ ।
रविको यस्तो प्रष्टिकरण आइरहँदा सत्ता पक्षका कतिपय नेताहरुले भने सहकारी ठगीको मुख्य डिजाइनर रवि नै भएको दावी गर्ने गरेका छन् । यसको तथ्य प्रहरी अनुसन्धानमा रहेका छविलाल जोशीले पनि खुलाइसकेको बताइन्छ । तर प्रतिवेदनले नै गैरकानूनी ढंगबाट आएको रकम खर्च गरेवापत मात्रै रविलाई कारवाही गर्न प्रष्टसाथ भनेको छ ।
सभापति जोगाउन सम्पूर्ण शक्ति केन्द्रीत
रवि पक्राउ पर्ने त्रासका कारण रास्वपाले सबै शक्ति एकत्रित गराएको छ । पक्राउको चर्चा लगत्तै रास्वपाले प्रतिवादका लागि कार्यकर्तालाई आइतबार पार्टी कार्यालयमा बोलाएको थियो ।
त्यसैरात सभापति रविले पार्टी पङ्ति र सरकारलाई प्रष्ट पार्न सार्वजनिक रुपमै सम्बोधन गरे । रास्वपा यतिमा मात्रै रोकिएन, उसले चीन भ्रमणमा गएको टोलीलाई पनि तत्काल स्वदेश फर्कन निर्देशन दियो ।
रास्वपाले थप धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना पनि गर्दैछ । केही क्षण आपतमा परेको रास्वपा तत्काल रवि पक्राउ नपर्नुले भने राहत महशुस गरिरहेको छ । त्यसका अलावा पक्राउको हल्ला र उठेका विषयवस्तुलाई पनि रवि स्वयमले विभिन्न माध्यमबाट प्रष्ट पार्न खोजेका छन् ।
यसले पनि रविमाथिको अनुसन्धान र पक्राउ हुनसक्ने संभावनालाई केही कम बनाइदिएको छ । सहकारीकै विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच संघर्ष चल्दा रवि पनि पुनः अनुसन्धानको खतरामा छन् । प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीका सवालमा पीडितहरुको निवेदनमाथि पुरक उजुरी लगेर रविमाथि थप अफ्ठ्यारो पार्ने योजना बुनेको देखिन्छ । तर यो योजना हालसम्म सफल भइसकेको छैन ।
पक्राउ गरि रविमाथि अनुसन्धान गर्ने सत्ता पक्षको दाउ र प्रतिरक्षामा रहेको रास्वपाबीच थप के कस्ता संघर्ष चल्छन्, त्यो भने भविष्यले नै देखाउने छ ।