काठमाडौं । शनिबार मुलुककै सुगम र सुविधासम्पन्न केन्द्रीय राजधानीको नख्खु क्षेत्र सरकारको नजरमा दुर्गम बन्न पुग्यो । निरन्तर वर्षाका कारण देशभर ठूलो मात्रामा जनधनको क्षति हुँदा नख्खु खोला किनारमा बसेको एक परिवारले भोगेको एक कारुणिक दृष्य अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
रौतहट घर भई नख्खुको सुगम बस्ती भन्ने टोलमा बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी ६ वर्षीया छोरी मेघना साह, राजुका भाइ २२ वर्षीय राज साह र राजुकै छोरी करिब ४ वर्षीया शेर्तु साह आफ्नो ज्यान जोगाउन जस्ताको टहरोमाथि चढेका थिए । तर उनीहरुले साहारा लिएको टहरोले पनि बाढीको दवाव धेरै थेग्न सकेन । अन्ततः करिब १५ मिनेटसम्म हारगुमार हुँदा पनि उद्धार हुननसक्दा उनीहरु बाढीमै बगे ।
प्रत्यक्षदर्शीहरुले प्रहरी प्रशासन र सरकारलाई उनीहरुको अवस्थाबारे जानकारी दिइरहेपनि उद्धारका लागि कुनैपनि प्रयास भएनन् ।
जसका कारण मुलुककै राजधानीको नख्खुको सुगम बस्ती आइतबार सरकारको नजरमा दुर्गम बन्यो ।
तर बाढीमा बगेका ४३ वर्षीय राजु साह र उनकी छोरी मेघनाका लागि काभ्रेका चणिकलाल तामाङ भगवानकै अवतार प्रकट भइदिए ।
नख्खुमै बस्दै आएका काभ्रेका चणिकलालले खोलामै पसेर बाढीले करिब ३ सय मिटर बगेका राजु र मेघनाको उद्धार गरेका थिए ।
त्यस्तै राजुका भाई राज भने आँफै पौडिएर बच्न सफल भएका छन् । तर राजुकै ४ वर्षीया छोरी शेर्तु साह भने अझै बेपत्ता छिन् । यद्यपि बाढीले बगाएका दुई जनाको उद्धार गर्न सफल चणिकलाल तामाङको साहशिक कार्यको भने सर्वत्र प्रशंसा भइरहेको छ ।
गृहमन्त्रीको गलत सन्देश
शनिबार बिहानैदेखि नख्खुको उक्त घटनाप्रति धेरैबाट चासो र चिन्ता व्यक्त भइरहेको थियो । यही बेला केन्द्रिय सुरक्षा समिति बैठक पनि बस्यो । तर गृहमन्त्री रमेश लेखकले भने उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरु बगेको भन्दै चाहँदा चाहँदै उनीहरुलाई बचाउन नसकेको सार्वजनिक अभिव्यक्ति दिए । जबकी त्यसअघि नै ४ वर्षिया बालिका बाहेक अन्यको सकुशल उद्धार भइसकेको थियो ।
यसरी गृहमन्त्रीले नै उद्धार भइसकेकाहरुलाई पनि बचाउन नसकेको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुले राज्यसँग जनताले के आधारमा भरोसा कायम गर्ने ? भन्ने प्रश्न खडा भएको छ ।
ठूलोमात्राम जनधनको क्षति
पछिल्लो तथ्याङ्क अनुसार बाढी पहिरोका कारण मुलुकभर एक सय १२ भन्दा बढी मानिसको ज्यान गइसकेको छ, भने दर्जनौँ बेपत्ता छन् ।
त्यस्तै सयौँ मात्रामा घर र केही विद्युतीय पूर्वाधारहरुसमेत क्षतिग्रस्त भएका छन् । यस्तोमा सरकारले आवश्यक पूर्वतयारीमा ध्यान नदिएको भन्दै आम रुपमा आलोचना पनि बढ्दो छ ।
उच्च वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान अनुसार अलर्ट हुन नसकेको भन्दै सरकारमाथि आक्रोश बढीरहेको हो । यद्यपि सरकारले विपदबाट प्रभावितको पुनर्स्थपनाका लागि भने कुनै कसुर नराख्ने जनाएको छ ।
प्राकृतिक विपत्ति भवितव्य र आस्मिक हुने घटना भएपनि यसप्रति सरकारले पूर्वसचेतता अपनाउन भने सकेको देखिँदैन ।
कतिपय स्थानमा उद्धारमै खटिएका सुरक्षाकर्मीहरु पनि प्राविधिक र उपकरणकै अभावका कारण कर्तव्य पालनामा असफल भइरहेको पाइने गरेको छ । यसकारण पनि प्राकृतिक विपत्तिबाट हुने जनधनको क्षतिबाट बच्न सरकारले उच्च सतर्कता र चित समन्वयमा ध्यान दिनुपर्ने देखिन्छ ।