काठमाडौँ । धादिङको धुनिबेँसी नगरपालिका– ९ झ्याप्लेखोलामा शनिबार गएको पहिरोमा पुरिएका बस तथा गाडीका यात्रुहरु निकाल्ने क्रम जारी छ । अहिलेसम्म उक्त पहिरोबाट ३० जनाको शव निकालिएको छ । तीमध्ये १३ वटा शवको पहिचान खुलेको छ।
पहिरोमा पुरिएका सवारी साधन निकाल्ने क्रम जारी रहेको छ । हाल उक्त स्थानमा पुरिएका बसका यात्रुका आफन्त समेत भेला भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले पहिरो पन्छाउने काम जारी रहेको र ३० शव निकालिएको जानकारी दिएको छ । १४ जनाको शव शनिबारै राति निकालिएको थियो भने भने थप १६ जनाको शव आज निकालिएको हो ।
झ्याप्ले खोला पहिरोबाट निकालिएका शवहरु त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । ती शवहरु सनाखत तथा पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको हो ।
अविरल वर्षाका कारण आएको लेदोसहितको पहिरोमा पुरिएका अधिकांश सवारी साधन गोरखा र चितवन लगायतका जिल्लाबाट काठमाडौँ आइरहेका थिए । तर पहिरोमा पुरिएपछि ती गाडीका दर्जनौँ यात्रुहरुले ज्यान गुमाएका हुन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।