News 24 Television
पाथीभरा केबलकार ताप्लेजुङको समृद्धिमा कोसेढुङ्गो : अध्यक्ष ढकाल

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताउनुभएको छ। ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । 

उहाँले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गर्नुभयो।
उहाँले पाथीभरा केवलकारमा स्थानीयहरुलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताउनुभएको छ ।

संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताउनुभयो ।

उहाँले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राख्नुभयो । उहाँले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताउनुभयो । 

उहाँले स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताउनुभयो । उहाँले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताउनुभयो । उहाँले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताउनुभयो । उहाँले केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो । 

उहाँले पाथीभरा केबकार  आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘पाथीभरा केवलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं।'

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update