News 24 Television
सदरमुकाम पनि भारतीय भूमिबाट जानुपर्ने सुस्तामा पुल र बिजुली

काठमाडौँ । भारतीय सीमावर्ती क्षेत्र सुस्तामा नेपालकै लामो मल्टिस्पान झोलुङ्गे पुल बनेको छ । ढिलो निर्माण सम्पन्न भएको उक्त पुल बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् । सीमावासी नेपाली जनताले करिब एक दशकको प्रतीक्षापछि झोलुङ्गे पुल चढ्न पाउँदा खुसी व्यक्त गरेका छन् । २०७२ सालमा निर्माण सुरु भएको नारायणी नदीमाथिको उक्त पुल ठेकेदारका कारण तोकिएको अवधिभन्दा ५ वर्ष ढिला निर्माण सम्पन्न भएको हो ।  

वर्षौंदेखि नारायणी तर्न डुङ्गाको जोखिमपूर्ण यात्रा गर्दै आएका नवलपरासीस्थित सुस्ता गाउँपालिका– ५ का बासिन्दाले अब पुलबाट सहज यात्रा गर्न पाएका छन् । झोलुङ्गे पुल निर्माण भएसँगै सुस्तावासीमा खुसियाली छाएको छ । उनीहरुले वर्षौंदेखि डुङ्गाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्ला सदरमुकाम तथा बजार जानका लागि सहज भएको प्रतिक्रिया दिएका छन् । यो पुल बन्नुअघि डुङ्गा तरेर र भारतीय भूमि हुँदै नारायणीवारि सदरमुकामसम्म आउनुपर्ने अवस्था थियो । सरकारी सेवा लिन समेत भारतको भूमि हुँदै गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्था थियो । अब पुल बनेसँगै आफूहरुलाई धेरै सुविधा थपिएको स्थानीयहरुको भनाइ छ । 

सुस्तावासीले लामो समयपछि बिजुलीको समेत उपभोग गर्न पाएका छन् । बिहीबारै राष्ट्रपति पौडेलले सुस्ता क्षेत्रका लागि एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति पनि शुभारम्भ गरेका थिए । अहिलेसम्म सोलार पावरमा भर पर्नुपर्ने अवस्था रहेका स्थानीय निःशुल्क रुपमा बिजुली उपभोग गर्न पाएपछि गदगद भएका छन् । 

पुल उद्घाटनपछि राष्ट्रपति पौडेलले सशक्त राज्य निर्माण भएमात्रै नागरिकले दुःख व्यहोर्नु नपर्ने बताएका थिए । उनले सुस्ताबाट औद्योगिक क्रान्ति गर्न सकिने भन्दै उद्योगहरु खोल्न व्यवसायीहरुलाई आग्रह समेत गरे । साथै आर्थिक रुपले धान्न सकेमा केही वर्षमै सुस्ता जोड्ने मोटरेबल पुल पनि बनाइदिनेृ उनको आश्वासन थियो ।

उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सुस्ता– ५ का बासिन्दालाई एक वर्षसम्म निःशुल्क विद्युत उपलब्ध गराइएको बताए । गरिब जनता र मुलुकको स्रोत, साधनबाट वञ्चित रहेका व्यक्तिहरुलाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउँदै आएको उनको भनाइ थियो । 

पुल उद्घाटनमा निर्वाचन क्षेत्र सुस्ता पुगेका नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोदकुमार चौधरीले सुस्तामा बिजुली बत्ती पुग्नुले समग्र विकासको ढोका खुलेको बताएका थिए । उनले अब सुस्तालाई नेपालसँग भौतिक रुपले जोड्ने मात्रै नभई आर्थिक रुपले जोड्ने ढोका खुलेको समेत बताए । साथै सुरजपुरा जलविद्युत आयोजना १५ मेगावाट क्षमताको भए पनि साढे ३ मेगावाट भन्दा बढी क्षमतामा नचलेकोप्रति उनले सरकारको ध्यानाकर्षण पनि गराए । 

सुस्तामा झोलुङ्गे पुल बनेसँगै सोही पुल प्रयोग गरी पहिलोपल्ट विजुलीको लाइन पु¥याइएको हो । राज्य भएर पनि राज्यविहीन अनुभव गरिरहेका सुस्तावासीले अब बल्ल नेपाल राज्यसँग जोडिएको महसुस गरेका छन् । १ हजार ५७२ मिटर लामो त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल नेपालकै लामो झेलुङगे पुल भएको छ । यस पुलबाट सुस्ताका करिब ३५० घरधुरी लाभान्वित भएका छन् । यो पुल बन्नुअघि कञ्चनपुरस्थित दोधारा–चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुललाई नेपालकै लामो झोलुङ्गे पुल मानिन्थ्यो, जसको लम्बाई १ हजार ४५२ दशमलब ५ मिटर छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update