News 24 Television
काठमाडौं उपत्यकामा बाढीः उद्धारमै कमजोरी

काठमाडौं । बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँ उपत्यका जलमग्न हुन्छ । अझ, बागमती, विष्णुमती, हनुमन्ते, धोवीखोला, नख्खु, बल्खु खोलालगायतमा आएको बाढीले उपत्यकाका नदी किनार छेउका बस्तीहरू डुवान हुन्छन् । विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । तर, सरोकारवाला निकायले बर्खाको बेलामा बाहेक अन्य समयमा वेवास्ता गर्दा उपत्यकामै उद्दारको तयारी कमजोर हुन्छ । 

ललितपुरको सुगम बस्ती नजिकै नख्खु खोला किनारमा एउटा टहरो थियो । त्यो टहरामा रौतहट घर भएका राजु साहको परिवार बस्थ्यो । 

शुक्रबारबाट परेको अविरल वर्षाले नख्खु खोलाको बहाव बढेकाले खोला किनारका टहरमा बस्नेहरू सुरक्षित स्थानमा सर्दै थिए । साहको परिवार पनि ग्यास र चुलो बचाउनु पर्छ भन्दै सामान निकाल्दै थिए । तर, शनिबार बिहान ८ बजेतिर अचानक खोलामा बाढी आयो । उनीहरू बाहिर निस्कन सकेनन् । 

ज्यान जोगाउन जस्ताको टहरोमाथि चढे । त्यही बेला खोला बढ्दै गयो र चार जनालाई नै बगायो  । उद्धारका लागि याचना गर्दा गर्दै बगेका चारमध्ये तीनको केही तल पुगेपछि उद्दार भयो । त्यसक्षेत्रका बासिन्दाहरूले उद्धारमा सक्दो प्रयास गरेका थिए । 

बिहीबारदेखि परेको निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका थुप्रै स्थानहरू डुबानमा परेका छन् । बाढी पहिरोमा परी काठमाडौं उपत्यकामा मात्रै झण्डै तीन दर्जनको ज्यान गएको छ भने दर्जनौ मानिस बेपत्ता छन् । 

लगातारको वर्षाले गर्दा खोलानाला तथा सडकहरूमा पानीको स्तर अत्यधिक बढ्दा जनजीवन अस्तव्यस्त भएको छ । बाढीले घर, पसल तथा  सवारीसाधनहरूमा ठुलो क्षति पुर्याएको छ । धेरै मानिसहरू बाढीका कारण विस्थापित भएका छन् भने केहीको ज्यानसमेत गएको छ ।

सडक यातायात ठप्प भएको छ भने अत्यावश्यक सेवाहरूमा अवरोध भएको छ । हुनतः शुक्रबार र शनिबार अत्याधिक वर्षा हुने भन्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गरेको थियो । तर, उपत्यकामै उद्दारको तयारी कमजोर देखियो ।

काठमाडौं उपत्यकाको डोल क्षेत्र अर्थात नदी किनारका क्षेत्रका निश्चित मापदण्ड नै बनाइएको छ । तर त्यो मापदण्ड मिचेर घर बनाउँदा वर्षेनि डुवान हुने गरेको छ । त्यसमा पनि घर तथा उद्योगबाट निस्केका फोहोरमैला सिधै खोलामा फालिने परिपाटीले पनि जोखिम बढाएको छ । 

पछिल्लो समय त विभिन्न पार्क निर्माण गर्ने भन्दै खोला खुम्चाइएको छ । वर्षभरि जति नै योजना बनाएपनि नदी अतिक्रमण रोक्दा मात्रै डुवानको समस्या समाधान हुनेमा विज्ञहरूले जोड दिँदै आएका छन् । यस्तै, वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा पर्दा अरनिको राजमार्गमा सवारी आवागमन ठप्प हुने गरेको छ ।

उपत्यका लगायत देशभर हुने डुबानको समस्यामा स्थानीय सरकार, सहरी विकास मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्थापन मन्त्रालयबीचको सहकार्यमा रणनीतिहरू बन्न आवश्यक देखिन्छ । र, कोरिएका खाका कार्यान्वयन गरिनु जरुरी छ । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update