News 24 Television
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न           

काठमाडौं । नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको मुलुक हो । पर्यटन, साहसिक खेल, हिमश्रृङ्खला र मनोरम दृश्यावलोकनका लागि नेपाल आकर्षक मुलुक हो । 

केहि समयको पैदल यात्रामै हिमश्रृङ्खला हेर्न पाइने मुलुक भएपनि पूर्वाधार विकास, यातायातको सहज र गुणस्तरिय पहुँच विस्तार लगायतका काम गर्न नसक्दा नेपालको पर्यटन सुस्ताएको छ । तर, विविधतायुक्त पर्यावरणसँगै मनोरम दृश्यका लागि धौलागिरी आइसफल थप चासोको क्षेत्र बनेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका–२ मा अवस्थित धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । बेनी– जोमसोम सडक खण्ड अन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदलयात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । 

धौलागिरी आइसफलमा मानापाथी हिमालको समेत आइसफलसंगै जोडिएको छ । सडकमार्गबाट छोटो अवधिकै पैदलयात्रामा हिमालको काखमा पुग्न सकिने भएकाले धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको स्थानीयले बताइरहेका छन् । 

छोटो दुरीको पैदलयात्रामा हिमालको फेदमा आउन सकिने यहाँको प्रमुख विशेषता हो । वरिपरी हिमालको लस्करले घेरिएको बुकी पाटनबाट हिमालको टुप्पोदेखि निरन्तर खसिरहने आइसफलको दृष्य लोभलाग्दो देखिन्छ । 

धौलागिरी आइसफल पदमार्ग र आइसफल क्षेत्रमा प्रत्येक्ष रुपमा हिमाली र जंगली पशुपंक्षिलाई समेत अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको बताइन्छ । 

समुद्री सतहदेखि ४ हजार १५० मिटर उचाईमा रहेको धौलागिरि र मानापाथी हिमालको आइसफल क्षेत्रबाट नीलगिरी र अन्नपूर्णलगायतका हिमशृङ्खलाका १० ओटा बढी हिमचुचुराहरुको समेत नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ । 

थासाङको ह्याङडिङ डाँडाको बुकी पाटनबाट धौलागिरी र मानापाथी हिमालको आइसफल समेत हेर्न सकिन्छ । उसोतः यहाँको बुकी पाटनमा परम्परागत रुपमा हुँदै आएको चौरीपालन समेत पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ । 

थासाङको छाकताङ गाउँको शिरमा रहेको धौलागिरी आइसफल क्षेत्रमा जाने पर्यटकहरुले चौरीगोठ रहेको बुकी पाटनमा क्याम्पिङ समेत गर्दै आएका छन् । 

पाँच घण्टाको पैदलयात्रामै पुग्न सकिने भएकाले कतिपय पर्यटकहरु टाङछारा क्षेत्रमा रहेका होटलहरुमा बास बसेर एकै दिनमा आइसफल क्षेत्रको भ्रमण गरेर पुनःफर्कने गर्छन् । 

बस्तीबाट नजिकको दुरीमा पर्ने भएकाले धौलागिरी आइसफल मुस्ताङमा आउने पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको स्थानीयको भनाइ छ । 

मुस्ताङ भ्रमणमा आउने पर्यटकहरु अधिकांश अपर र मुक्तिनाथ पुगेर मात्रै फर्कने गरेको बताउँदै जिल्ला भित्र उत्कृष्ट र आकर्षक सहायक पर्यटकीय गन्तव्यहरु ओझेलमा परेको स्थानयिको गुनासो छ । टाङछारादेखि आइसफल जाने पदमार्गमा पर्ने सेकोङ ताल समेत पर्यटकहरुका लागि आकर्षणको रुपमा रहेको छ । 

यस पदमार्गमा पर्यटकहरुको सुविधाको लागि पदमार्ग संगै सेकोङ ताल र प्होतो खर्कमा पर्यटक आश्रयस्थल बनाईएको छ । सेकोङ तालदेखि आइसफल क्षेत्रसम्मको पदमार्गमा पर्यटकहरुले गलत बाटो हिड्न नपरोस भनेर सूचनापोल समेत राखिएका छन् । 

आइसफल क्षेत्रबाट मुस्ताङका दर्जनौँ बस्तीका साथै पोखरा–जोमसोम हवाइ उडान भरेका जहाजहरुको दृष्य समेत उत्तिकै मनमोहक देखिन्छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update