News 24 Television
बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु

काठमाडौं । शनिबार बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । 

यस्तैगरि, विभिन्न प्रदेशमा ३४ जना घाइते भएका छन् । भने, ६४ जना बेपत्ता छन् । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार शनिबार २ हजार १०३ जनाको उद्धार गरिएको  छ । कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । 

यसैगरि, शनिबार सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको थियो । नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । 

सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका २ जनासहित ४ जनाको उद्दार गरिएको सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । ललितपुरको नख्खुवेसीबाट पनि ५ जनाको उद्दार गरेर काठमाडौं ल्याइएको सेनाले जनाएको छ । 

यसैबीच, काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षा भएको छ । यसले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हइरहेका प्रहरीले जनाएको छ । बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पु¥याएको छ । 

शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको छ । सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ ।  

यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड छ । काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update