काठमाडौं । सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ ।नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो । पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो ।
पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८० हजार ४ सय ९५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । यसैबिच बढ्दो बहावलाई मध्यनजर गर्दै भारतीय पक्षले समेत अलर्ट जारी गरेको छ ।
जल संसाधन विभाग पटनाले विशेष बुलेटिन जारी गर्दै कोशीको बहाव ६ लाख ८१ हजार ६ सय ३९ क्युसेकसम्म पुग्ने अनुमान गरेको छ ।
काठमाडौं उपत्यका पनि जलमग्न
अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिकहरु बेपत्ता भएका छन् । उपत्यकाका वागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ ।
मनोहरा, घट्टेखोला लगायतका खोलाहरुका कारण सडक र बस्ती डुबानमा परेका छन् । उपत्यकामै केही स्थानमा पुल बगेको छ । मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध बनेको छ । काठमाडौं उपत्यकासहित देशभर नै अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।