News 24 Television
झापाको देवि माविमा खेल सिक्नै रोक ! वेमतलबी जनप्रतिनिधि

झापा । विगत ३७ बर्षदेखि झापाको विर्तामोडमा निरन्तर सञ्चालन भइरहेको कराते खेल प्रभावित भइरहेको छ । झापा विर्तामोड स्थित देवि माविले आफ्नो क्षेत्रमा प्रशिक्षणको अनुमति नदिएपछि कराते प्रशिक्षण प्रभावित भएको हो । 

करिब चार दशक अघिदेखि प्रशिक्षण हुँदै आएको स्थानमा प्रशिक्षण रोक लगाइँदा प्रशिक्षार्थीहरु मात्रै नभई दीर्घकालमा कराते खेलमा नै प्रभाव पर्ने गुनासो प्रशिक्षकदेखि अभिभावकले गरेका छन् । 

विद्यार्थीको समग्र पक्ष विकासका लागि सैदान्तिक शिक्षासँग अन्य व्यवहारिक शिक्षा पनि आवश्यक पर्छ । योसँगै विद्यार्थी जीवनमा अपरिहार्य रुपमा जोडिएर आउने क्षेत्र हो खेल । 

राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी बन्नका लागि मात्रै होइन स्वास्थ्य तन्दुरुस्तीमा उच्चतम सहयोगका लागि हरेक व्यक्तिले खेलको अभ्यास गर्नु राम्रो मानिन्छ । तर, झापा विर्तामोडको देवि माविले भने पढाईको समय अघि बिहान विद्यालय प्राड्डणमा हुँदै आइरहेको कराते प्रशिक्षण रोकेपछि यतिबेला खेलाडी, अभिभावक तथा प्रशिक्षकहरु अचम्मित परिरहेको बताउँछन् । 

विगत ३७ वर्षदेखि चलाइदै आएको कराते प्रशिक्षण रोकिनुलाई स्वभाविक मानेका छैनन अभिभावकले । विद्यायलका प्राचार्य अम्बिका श्रेष्ठलगायत केहि व्यक्तिले खेलकुदमा कुनियत राख्दा आफुहरु खेलबाट बन्चित बन्नु परिरहेको खेलाडीहरुको गुनासो  छ । 

२०४४ सालदेखि निरन्तर यस विद्यालयको प्राड्डणमा कराते देवि डोजो मार्फत कराते प्रशिक्षण भइरहेको थियो । स्थापना कालदेखि कराते खेलका बरिष्ट प्रशिक्षक मदन उप्रेती, प्रशिक्षक कालु मेचेलगायतले प्रशिक्षण गराएका थिए । 

त्यो समयका सिनियर खेलाडीहरु प्रशान्त भण्डारी, कुमार भट्टराई, सुभाष मेचेलगायत छन् । जसमा भण्डारी अहिले जिल्ला खेलकुद विकास समिति झापा अध्यक्ष छन् । त्यस्तै भट्टराई कराते प्रशिक्षक तथा अग्रज सञ्चारकर्मी हुन् भने मेचे राष्ट्रिय कलाकार हुन् । 

पछिल्लो तीन दशकदेखि निरन्तर राष्ट्रिय खेलकुद विकास समितिका कराते प्रशिक्षक तथा साउथ एशियन मेडलिस मीना पाठक उप्रेतीले यस स्थानमा कराते प्रशिक्षण गराइरहेकी छिन् भने करिब १५० जना प्रशिक्षार्थीहरुले कराते सिकीरहेका छन् ।  

वर्षौँदेखि आपसी समझदारीमा चल्दै आएको प्रशिक्षण अब भने विद्यालयले प्राङ्गडमा चलाउन नदिने भनेको छ । विद्यालय परिसरमा कराते प्रशिक्षण गराउन प्रशिक्षक तथा खेलाडीहरुसंग कुनैपनि सम्झौता नभएकोे बताउँदै सुरक्षालाई मध्यनजर गरेर खेल प्रशिक्षण अन्यत्रै सार्न लगाएको विद्यालय प्रशासनको भनाई छ । 

विगतका वर्षहरुमा जनप्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिलगाएत सरोकारवालाहरुकै समन्वयमा कराते प्रशिक्षणका लागि ठाउँ दिइएको थियो । तर, अहिले जनप्रतिनिधिसँग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएपनि विद्यालयको निर्णयमा हामीले केही बोल्दैनौं भन्दै यस नगरकी मेयर पन्छिन खोजेकी छन् । 

पढाई विद्यालयका लागि पहिलो प्राथमिकतामा रहनुु नै पर्छ । तर खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरु प्रोत्साहनका लागि समेत ध्यान दिनु पर्ने हुन्छ । त्यसमाथि पनि वर्षौदेखि अभ्यासमा रहेका राम्रा गतिविधिलाई आवश्यकता अनुसार सहयोगका लागि सबै सरोकारवाला निकाय जिम्मेवार बन्ने कि ? 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update