News 24 Television
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत  

रुपन्देही । ‘पर्यटन, न्याय र शान्ति’भन्ने नारासहित नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको छ । मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विदेशी पर्यटकलाई स्वागत गरि यो दिवस मनाइयो । नेपाल छिर्ने नाकामै र बुद्ध जन्मस्थलमा स्वागत पाउँदा पर्यटक पनि खुशीले गद्गद देखिन्थे । 

शुक्रबार बिहानैदेखि देशका अधिकांस भूभागमा अविरल वर्षा भइरहेको छ । तर, ४५ औं विश्व पर्यटन दिवस मनाउनलाई अविरल वर्षाले छेकेन । 

बिहानै रुपन्देहीका पर्यटन व्यवसायी, प्रदेशस्थित मन्त्री र सरकारी कार्यालयका प्रमुखहरु जम्मा भएर मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको स्वागतमा खटिए । 

पर्यटन डिभिजन कार्यालयसहित विभिन्न संघसंस्थाले बेलहिया नाकाबाट भित्रिएका फिलिपिन्सका जेलिना रोन्डाइल, श्रीलंकन सर्य सिंह, भारतीय जैनेन्द्र मोहन र मन्जु मोहनलाई स्वागत गरे । 

प्रदेशको पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषसहित पर्यटन व्यवसायीले लुम्बिनी पुगेका जापनिज युकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई ढाकाटोपी, खादामाला र मायाको चिनो सहित स्वागत गरे । सीमानाका र लुम्बिनीमा न्यानो आतिथ्यता पाएका पर्यटकले ढाकाटोपीमा सजिएर खुशी व्यक्त गर्दै नेपाल र नेपालीको प्रशंसा गरे ।

बेलहिया नाका र लुम्बिनीमा स्वागत गरिएका पर्यटकलाई एक दिनका लागि पर्यटन व्यवसायीले खाना, बस्न र घुम्नको व्यवस्था गरेका छन् । 

मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएकाले पर्यटकलाई गर्ने स्वागत, उनीहरुको आतिथ्यता, सेवासुविधा र मौलिकतामा कन्जुस्याइँ गर्न नहुने सरोकारवालाको जोड छ । 

यसले विश्व बजारमा नेपालको पहिचान झल्किने भएकाले पनि पर्यटकीय वातावरण सहितको व्यवहार जरुरी हुन्छ । लुम्बिनी सहित मुलुकका गन्तव्यहरुमा घुम्न बर्सेनी लाखौं पर्यटक आउँछन् । तर, विभिन्न बहानामा पर्यटकले सास्ती पाइरहेको घटना पनि  बेलाबेला बाहिरी रहन्छन् । 

कनेक्टिभी, पूर्वाधार विकास, सेवासुविधा, सिस्टता लगायतमा ध्यान दिई तीनै तहका सरकार र निजी क्षेत्र मिलेर अघि बढे पर्यटकको बसार्इं लम्बिने र यसले आर्थिक उन्नति हुनेमा आशंका छैन । त्यस्तै लुम्बिनीको पर्यटन विकासका लागि गौतमबुद्ध विमानस्थल संचालनमा आउने वातावरण बनाउन पनि निजी क्षेत्रको दबाब छ । 

लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरिक र बाह्य गरी ६ लाख १२ हजार ४ सय ७७ जना पर्यटकले भ्रमण गरेका छन् । 

अध्यागमन कार्यालयका अनुसार यो अवधिमा स्थलमार्ग हुँदै बेलहियाबाट ५२ हजार ४ सय ५२ जना तेस्रो मुलुकका पर्यटक मुलुक भित्रिएका छन् । 

सिथिल बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किंदै गएको छ । तर, पूर्वाधार र कनेक्टिभिटी मुख्य समस्या बनिरहेका छन् । पर्यटक भित्र्याउन पूर्वाधार, प्रकृति र संस्कृति जरुरी हुन्छ । 

प्रकृतिको संरक्षण गर्दै पूर्वाधार र संस्कृतिको विकासमा ध्यान दिँदै गुणस्तरीय पर्यटक भित्र्याउन सबै लागे मात्रै मुलुकले पर्यटन क्षेत्रबाट भाषणमा भनेजस्तै फड्को मार्न सक्छ । नत्र पर्यटन दिवसमा गरिने चर्का भाषणले मात्र न गुणस्तरीय पर्यटक भित्रिन्छन् न त मुलुकले फाइदा नै उठाउन सक्छ । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update