News 24 Television
वैदेशिक शिक्षाले कंगाल बनाउँदै देश, ६ वर्षमा बाहिरियो खर्बौ रुपैयाँ 

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीबाट आर्थिक वर्ष २०८१\८२ को पहिलो महिना साउनमै ठूलो रकम बाहिरिएको छ । विभिन्न मुलुकमा पुगेका विद्यार्थीहरूबाट साउनमा १४ अर्ब ९२ करोड रूपैयाँ बाहिरिएको राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गरेको छ । 

पछिल्लो ६ वर्षमा ४ खर्ब रुपियाँभन्दा बढी रकम विद्यार्थी भिसामार्फत् बाहिरिएको राष्ट्र बैंकले सार्वजनिक गरेको छ । उच्च शिक्षाका लागि विद्यार्थी विदेश जानु सामान्य प्रक्रिया भएपनि नेपाल कम विकसित राष्ट्र भएका कारण शिक्षाकै लागि यति ठूलो रकम बाहिरिदाँ देशको अर्थतन्त्रमै ठूलो असर पुगेको छ । 

शिक्षा प्रणालीको गुणस्तर र अवसरहरूको अभावले नेपाली विद्यार्थीको विदेशप्रति मोह बढ्दो छ । शिक्षाका लागि मात्र होइन, आफ्नो जीवनका विभिन्न पक्षहरूमा सशक्त र सक्षम बन्ने अवसर पाउने भएकाले पनि विद्यार्थीहरूको रोजाई विदेश बन्ने गरेको छ । 

हुनतः विश्वव्यापीरुपमा हर्ने हो भने विद्यार्थीको ‘मोविलिटी’ सामान्य हो । तर नेपालको सन्दर्भमा भने विद्यार्थीहरू पढाइ भन्दा पनि सुरक्षित भविष्यका लागि उतै सेटल हुनेगरी विदेशिने गरेका छन् । यसले नेपालबाट ठूलो मात्रामा पुँजी पनि पलायन भैरहेको छ । 

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो महिना (साउन) मा विदेश पढ्न जानेले १४ अर्ब ९२ करोड रूपैयाँ लगेका छन् ।

विगत ६ वर्षको अवधिमा करिब ४ खर्ब रुपियाँभन्दा बढी रकम विद्यार्थी भिसामार्फत बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । २०८० साउनदेखि २०८१ असार मसान्तसम्म विदेश अध्ययनमा जाने विद्यार्थीबाट १ खर्ब २५ अर्ब १३ करोड रुपियाँ बाहिरिएको थियो । 

कुन आर्थिक वर्षमा कति रकम बाहिरियो ?

आर्थिक वर्ष ०७९\८०    एक खर्ब ४२ करोड ३३ लाख

आर्थिक वर्ष०७८\७९    ६७ अर्ब ७० करोड १६ लाख

आर्थिक वर्ष ७७\०७८    २४ अर्ब ९५ करोड ९४ लाख

आर्थिक वर्ष ७६\०७७    २५ अर्ब ८१ करोड ३२ लाख

आर्थिक वर्ष ७५\०७६    ४६ अर्ब २४ करोड तीन लाख

पछिल्लो समय मुलुकभित्रकै विश्वविद्यालयमा आफ्ना बालबालिकालाई पढाउन अभिभावकहरु समेत तयार देखिँदैनन् । जसका कारण पनि विद्यार्थीहरूको विदेशिने संख्यामा वृद्धि भैरहेको हो ।

मुलुकभित्रका विश्वविद्यालयहरुमा बन्द, हड्ताल, तालाबन्दी र राजनीतिक हस्तक्षेपले शैक्षिक क्यालेन्डर चुस्तदुरुस्त रुपमा अगाडि बढ्न नसक्दा नियमित पठनपाठन, वार्षिक परीक्षा, परीक्षाफल प्रकाशनजस्ता शैक्षिक क्रियाकलापहरु अनियमित हुन्छन् । तर, नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान रोक्न सिधा प्रतिबन्ध लगाउनु प्रभावकारी उपाय हुँदैन । 

यसका लागि देशभित्रै शिक्षा प्रणालीको सुधार र अवसरहरूको विकास गर्नुपर्नेमा पटक पटक शिक्षाका जानकारहरूले सुझाव दिने गरेका छन् । 

नेपालका शिक्षण संस्थाहरूमा गुणस्तरीय शिक्षा, अनुसन्धानको वृद्धि, र प्राविधिक तथा व्यावसायिक पाठ्यक्रमहरूको सुधारले विद्यार्थीहरूलाई आकर्षित गर्न सक्छ । 

नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउन विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गरी नयाँ कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । साथै, रोजगार र जीवनमुखी शिक्षाको अभावका कारण विद्यार्थीहरू विदेश जान्छन्, यसमा पनि सरोकारवालाको ध्यान पुगिरहेको छैन । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update