काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै २२ मिनेट सम्बोधन गरेका छन् । त्यस क्रममा उनले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नाराप्रति दृढ विश्वास राख्दै नेपालले परराष्ट्रनीति सञ्चालन गरेको बताए । उनले रुस–युक्रेन युद्धका साथै मध्यपूर्वको तनावका बारेमा पनि आफ्नो धारणा राखे ।
यसका साथै पर्यावरणीय एवं जलवायु सङ्कट, बढ्दो भूराजनीतिक द्वन्द्व र सैन्य खर्चको वृद्धिका कारण विश्व अस्थिरतातिर उन्मुख भएको उनले बताए । यस्तो प्रतिकूल अवस्थामा विश्व नेतृत्वले उपयुक्त किसिमको सहकार्य र आपसी सहयोगलाई बढावा दिनुपर्ने ओलीको धारणा थियो ।
प्रधानमन्त्री ओलीले आफ्ना निकटका छिमेकीहरूसँग र त्यसभन्दा परका राष्ट्रहरुसँग पनि मित्रतापूर्ण र रचनात्मक सम्बन्ध राख्दै त्यसलाई थप अभिवृद्धि गर्न चाहेको बताए । त्यस्तो सम्बन्ध पारस्परिक विश्वास, सार्वभौमिक समानता, भौगोलिक अखण्डता, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित हुनुपर्ने उनको भनाइ थियो ।