News 24 Television
महिला फुटबल लिग : तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो

काठमाडौं । एन्फा महिला फुटबल लिगको तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो लागेको छ ।    कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आ–आफ्नो खेलमा जित निकाल्दै लिगको दोस्रो चरणमा स्थान बनाएसँगै सुुपर लिग खेल्ने पाँच टोलीको छिनोफानो भएको हो । 

एपिएफ, नेपाल आर्मी, नेपाल पुलिस शीर्ष तीनमा रहेर पहिले नै सुपर लिगमा पुगिसकेका छन् । कोशीले सुदूरपश्चिम प्रदेशलाई चार शुन्य र वालिङले चन्द्रपुर नगरपालिकालाई दुई–एक गोल अन्तरले पराजित गरेको थियो । १० टोली सहभागी लिगमा अंकतालिकाको शिर्ष पाँच टोलीले सुपर लिगको यात्रा तय गरेका हुन् । 

वालिङ चौथो र कोशी पाँचौँ स्थानमा रहने पक्का भएको छ । छैटौँ स्थानमा रहेको बागमती युवा क्लबले एक खेल खेल्न बाँकी छ । तर, कोशीभन्दा बागमती चार अङ्कले पछाडि रहेको छ । वालिङले नौ खेलमा पाँच जित र चार हारसहित १५ अङ्क बनायो । कोशीले चार जित दुई बराबरी र तीन हारसहित १४ अङ्कमा रहेर पहिलो राउन्ड सकायो । 

चन्द्रपुर नौ खेलबाट आठ अङ्कसहित आठौँ स्थान र सुदूरपश्चिम नौ खेल नै गुमाएर अन्तिम स्थानमा रहे । सुदूरपश्चिम भने जितविहीन बन्दै लिगको पुछारमा रहेर यस संस्करणको यात्रा टुङ्गाएको छ । सुदूरपश्चिमले ६९ गोल व्यहोर्दा ३ गोल मात्रै गर्न सफल भयो । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update