News 24 Television
लेबनान र सिरियाको सीमा क्षेत्रमा हिजबुल्लाह लक्षित इजरायली आक्रमण तीव्र

काठमाडौं । इजरायलले लेबनान र सिरियासँग जोडिएको क्षेत्रमा ७५ वटा हिजबुल्लाह समूहलक्षित हमला तीव्र बनाएको छ । 

पश्चिमा राष्ट्रहरूले इजरायल र हिजबुल्लाहबीच २१ दिने अस्थायी युद्धविरामको प्रस्ताव अघि सारेको केही घण्टापछि इजरायली सेनाले पुनः आक्रमण गरेको हो । 

अमेरिका, बेलायत, फ्रान्सलगायत देशले गरेको अस्थायी युद्धविराम प्रस्ताव इजरायलले व्यवहारिक रुपमा अस्वीकार गरेको छ । आधिकारिक रुपमा उसले प्रस्तावका विषयमा केही नबोले पनि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सैनिकहरुलाई ‘पूर्ण क्षमता’का साथ युद्व जारी राख्न निर्देशन दिएसँगै तत्काल युद्वविरामको सम्भावना टरेको हो । 

अन्तर्राष्ट्रिय दबाबका बीच पनि दुवै पक्षले सीमावर्ती क्षेत्रमा भिडन्त जारी राखेका छन् । इजरायलले उत्तरी क्षेत्रबाट हिजबुल्लाह नहटेसम्म आक्रमण जारी राख्ने बताएको छ । 

हिजबुल्लाहले पनि इजरायलतर्फ करिब ४५ वटा क्षेप्यास्त्रहरु प्रहार गरेको जनाइएको छ । इजरायलले सोमबार यता गरेको आक्रमणबाट झन्डै ६ सय मृत्यु भइसकेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, कूटनीतिज्ञहरूले सीमामा अस्थायी युद्धविराम स्थापना गर्न र सम्भावित इजरायली स्थल आक्रमणलाई रोक्न प्रयास गरिरहेका छन् । 

संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा दुवै पक्षबीचको युद्धलाई मत्थर पार्ने अमेरिकाको तयारी छ । गाजा युद्ध विरामलाई अगाडि बढाउन नेतन्याहूसँग अमेरिकाले छलफल गर्ने बताइएको छ । तर, इजरायली विदेश मन्त्री इजरायल काट्जले भने युद्धविराम नहुने स्पष्ट परिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update