News 24 Television
८७ अर्ब छाडेर रविको पछि किन लाग्यो सत्ता ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने देखिएपछि रास्वपामा उच्च सतर्कता अपनाइएको छ । आइतबार रविका पूर्व व्यवसायिक साझेदार छविलाल जोशी पक्राउ परेलगत्तै रविलाई पनि पक्रने सरकारी तयारी थियो । त्यसलगत्तै रास्वपाका नेता–कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर रविलाई घेरेर रातभर बसेका थिए । त्यसको अघिल्लो राति मात्र चीन भ्रमणमा गएको रास्वपा उपाध्यक्ष डा. स्वर्णिम वाग्लेसहितको टोली तत्कालै फर्कने कुरा बाहिर आएको थियो । तर सरकारले रविलाई तत्कालै पक्राउ नगर्ने संकेत देखाएपछि चीन गएको टोली केही दिन बिराएर बिहीबार स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा १४ सदस्यीय टोली चीन गएकोमा बिहीबार ८ जना मात्र फर्किएका छन्, ६ केही दिनमा फर्कने बताइएको छ । रास्वपाको कोर टिमले सभापति रवि मात्र हैन सिंगो पार्टीमाथि नै सत्तारुढ दल काँग्रेस–एमालेले वैरभाव साँधेको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रने तयारी गरेको छ । 

चीन भ्रमण छोट्याएर बिहीवार स्वदेश फर्किएको टोलीले पनि सभापति रविलाई पक्राउ गरेमा सशक्त प्रतिवाद गर्ने जनाएको छ । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताए । उनले पार्टीको सभापति व्यक्ति मात्र नभएर संस्था भएकाले सबैले रविको रक्षामा सहयोग गर्नुपर्ने निष्कर्षसहित आफूहरु स्वदेश फर्किएको बताए । राजनीतिक रिसइबीका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको उनको आरोप छ । 

रास्वपा सांसद मनिष झाले पार्टी सभापतिले सहकारीमा आफैँ व्यक्तिगत रुपमा उपस्थित र संलग्न भएर रकम नलिएको प्रतिवेदनले स्पष्ट पारिसकेको बताउँदै रविलाई फसाउने खेल भइरहेको बताए । उनले ४१ वटा कम्पनीमा ८७ अर्ब रकम सहकारीबाट आएकोतर्फ सरकारको ध्यान नभएको तर त्यसमध्येको एउटा मात्रै कम्पनीमा सभापति रविलाई लक्षित गरेर प्रहार भइरहेको बताए । उनले रवि लामिछाने जोडिएको कम्पनीको पछाडि मात्रै अनुसन्धान केन्द्रित हुनु आपत्तिजनक रहेको बताए । २÷४ करोडको पछि लागेर सरकारले ८७ अर्ब छोड्ने चलखेल गरेको उनको आशंका छ । वाग्ले र झाबाहेक अन्य नेताहरु पनि रविमाथि प्रतिशोध साँधिएकोले प्रतिवाद गर्नुपर्नेमा एकमत देखिन्छन् ।

एमाले, काँग्रेस, माओवादी र रास्वपाका प्रतिनिधि सम्मिलित संसदीय छानबिन समितिले रवि सहकारी ठगीमा संलग्न रहेको नदेखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर त्यही प्रतिवेदनमा रविले गोर्खा मिडियामा रहेका बेला भएको कारोबारको उत्तरदायित्व बहन गर्नेगरी कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदनले करिब ४० वटा सहकारीमा गरी बचतकर्ताहरुको ८८ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकाले पनि अनुसन्धानको केन्द्रमा भने रविलाई राख्न खोजिएको देखिन्छ । 

यसमा घुमाउरो पाराबाट काँग्रेस–एमालेले रविको राजनीति र रास्वपा सिध्याउन खोजेको रास्वपाका नेताहरुको ठहर छ । केही दिनअघि कसैको राजनीति जोगाइदिनका लागि आफू बलिको बोको नबन्ने बताउँदै रविले आफूलाई पक्रन आएमा सशक्त प्रतिवाद गर्न निर्देशन नै थिए । यद्यपि पछि रविले आफू गोर्खा मिडियामा हुँदाका बेलाको बहन गर्नुपर्ने उत्तरदायित्व भने बहन गर्ने र अदालतको पुर्जीसहित पक्रन आएमा स्वीकार्न सकिने अभिव्यक्ति दिएका थिए । छविलालको बयानको आधारमा रविलाई पक्रने या नपक्रने भन्ने निष्कर्षमा कास्की जिल्ला अदालत तथा प्रहरी पुग्नसक्ने अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update