सुर्खेत । निर्माण सुरु भएको १२ वर्षपछि सुर्खेतको चिङ्गाड गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनले पूर्णता पाएको छ ।
भवन निर्माणमा वर्षाैँ लागेपनि नयाँ भवनबाट सेवा दिन शुुरु गरेसँगै गुणस्तरीय र सरल रुपमा सेवा पाइने अपेक्षा गरिएको छ ।
निर्माण कार्य थालेको १२ वर्षपछि अवल्चिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माले पूर्णता पाएसँगै सुर्खेतको चिङ्गड गाउँपालिकावासीले केही राहतको महशुस गरेका छन् ।
सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ५ मा नयाँ भवनको निर्माण सम्पन्न भएसँगै यसै भवनबाट सेवा प्रारम्भ गरिएको हो । यसले स्थानीयलाई सेवामा सहजता थपेको छ ।
२०६९ असारमा निर्माण व्यवसायी फ्रेन्डस् कन्स्ट्रक्सन, काठमान्डौले डेढ बर्षमा स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । पटक पटक म्याद थप गर्दापनि आधामात्रै काम गरेर भवन अलपत्र छोडेपछि संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले २०७७ मा ठेक्का तोडेर नयाँ ठेक्का लगाएको थियो ।
पछिल्लो पटक २०७८ जेठमा ठेक्का पाएको क्याराभान के आर जेभी सुर्खेतले गत असारमा भवन निर्माण सम्पन्न गरेको हो । नयाँ भवन बनेसंगै चिकित्सकहरु पनि नियमित बसिदिए नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा गरेका छन् ।
दुई छिमेकी जिल्लासंग जोडिएको प्राथमिक स्वास्थ्य अवल्चिङ्गमा दैलेखको गुराँस गाउँपालिका र जाजरकोटको शिवालयबाट पनि सेवाग्राही आउने गरेका छन् ।
जसले गर्दा ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रको तुलनामा यहाँ विरामीको चाप हुने गरेको छ । स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतहित १२ जनाको दरबन्दी रहेकोमा सबै दरबन्दी परिपूर्ति छ ।
अहिले बहिरंग तथा आकस्मिक सेवा, प्रसुति सेवा, दिँदै आएकोमा भवन बनेसंगै आवश्यक उपकरण उपलब्ध भएमा सामान्य शल्यक्रिया, भिडियो एक्सरे, पोष्टमार्टम सेवा सुरु गर्ने चिकित्सकको योजना छ ।
चिङ्गाड गाउँपालिकाकै एक मात्र स्वास्थ्य बीमा कार्यक्रमको पहिलो सेवाप्रदायक संस्था र गाउँपालिका भित्रको प्रेषण स्वास्थ्य संस्थाका रुपमा अवल्चिङ्ग स्वास्थ्य केन्द्र रहेको छ ।
गाउँपालिकावासीलाई चिकित्सकीय सेवा दिनका लागि प्राथमिक स्वास्थ्य केन्द्रलाई चिङ्गाड गाउँपालिकाले पनि प्राथमिकतामा राखेको छ । तर आवश्यक उपकरण खरिदका लागि गाउँपालिकाको स्रोतबाट मात्रै नपुग्ने भन्दै प्रदेश, संघ सरकार र दाताहरुको सहयोग खाँचो रहेको छ ।
भवन सञ्चालनमा ल्याइएसँगै नागरिकको मौलिक हकका रुपमा रहेको आधाभूत सेवाप्रदानमा सहजता थपेको मुख्यमन्त्री यमलाल कंडेल बताउँछन् । जनस्वास्थ्यको सहजताका लागि तीनै तहका सरकार मिलेर अगाडी बढ्नु पर्ने र त्यसका लागि आफुले समन्वयन गर्ने मुख्यमन्त्री कंडेलको प्रतिबद्धता छ ।
अझै पनि ग्रामिण क्षेत्रमा स्वास्थ्यमा नागरिकको सहज पहुँच छैन । त्यसैले गाउँपालिका स्तरमै चिकित्सकीय सेवाको सुविधाका लागि तीनै तहका सरकारले एकीकृत प्रयास गर्नै पर्ने देखिन्छ ।