काठमाडौं । नेपालमा सबैभन्दा बढी प्रयोग हुने आयातित पदार्थ हुन्, डिजेल, पेट्रोल र ग्यास । यी इन्धन आयातमा नेपालको बर्सेनि २ खर्ब रुपैयाँभन्दा बढि बाहिरिने गरेको छ ।
इन्धन लगायतका धेरै कुरा आयत गर्नुपर्दा नेपालले हरेक वर्ष करिब १० खर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा व्यहोर्दै आएको छ । तर, पछिल्लो दुई आर्थिक वर्षमा लगातार इन्धनको आयात घट्दो क्रममा देखिएको छ ।
सरकारले नवीकरणीय ऊर्जा स्रोतहरूको विकासमा जोड दिएको छ । विशेष गरी, जलविद्युत् परियोजनाहरू र सौर्य ऊर्जाको प्रयोगमा वृद्धि भएको छ । यी कारण पनि इन्धनको खपतमा कमी आउँदा पेट्रोलियम पदार्थको आयात घटाएको हो । त्यस्तै पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनहरूको प्रयोग बढ्दै गइरहेको छ । यसको परिणामस्वरूप पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।
विद्युतीय सवारीहरू पेट्रोल र डिजेलबाट चल्ने साधनहरू भन्दा सस्तो र वातावरणमैत्री हुने भएकाले यो विद्यूतीय सवारी दिन प्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ ।
पेट्रोलियम पदार्थको आयात परिमाण (किलोलिटर)
पेट्रोल
आर्थिक वर्ष २०७८\७९ : ७ लाख ३८ हजार
आर्थिक वर्ष २०७९\८० : ६ लाख ८० हजार
आर्थिक वर्ष २०८०\८१ : ६ लाख ८७ हजार
डिजेल
आर्थिक वर्ष २०७८\७९ : १७ लाख ५४ हजार
आर्थिक वर्ष २०७९\८० : १४ लाख ८ हजार
आर्थिक वर्ष २०८०\८१ : १४ लाख ११ हजार
अब हेरौं आयात मूल्य
पेट्रोल
आर्थिक वर्ष २०७८\७९ : ७१ अर्ब ३८ करोड
आर्थिक वर्ष २०७९\८० : ६८ अर्ब ८ करोड
आर्थिक वर्ष २०८०\८१ : ७१ अर्ब ७९ करोड
डिजेल
आर्थिक वर्ष २०७८\७९ : एक खर्ब ३८ अर्ब २३ करोड
आर्थिक वर्ष २०७९\८० : एक खर्ब ५३ अर्ब ७७ करोड
आर्थिक वर्ष २०८०\८१ : एक खर्ब ४३ अर्ब ५७ करोड
नेपालमा इन्धनको आयात घट्दा विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रभाव पर्छ । आर्थिक रूपमा इन्धन आयातमा कमी आउँदा विदेशी मुद्रा बचत हुन्छ जसले व्यापार घाटा घटाउँछ भने देशको आर्थिक सन्तुलनमा सुधार हुन्छ ।
ऊर्जा सुरक्षामा वृद्धि भएर, नेपालले जलविद्युत् र सौर्य ऊर्जाजस्ता वैकल्पिक स्रोतहरूको प्रयोगमा बृद्धि हुँदा आयातमा निर्भरता घटाउँछ ।
पर्यावरणीय दृष्टिकोणले इन्धनको खपत कम हुँदा प्रदूषणमा कमी आउँछ र वायु गुणस्तरमा सुधार हुन्छ । औद्योगिक र यातायात क्षेत्रमा विद्युतीय ऊर्जा र नवीकरणीय स्रोतहरूको प्रयोग बढ्दा दक्षता वृद्धि हुने र लामो समयसम्म फाइदा प्राप्त हुने सम्भावना छ ।