काठमाडमौं । लोकतन्त्र, समावेशीता र समानुपातिकता वर्तमान संविधानको प्राण हो । तर यसकै केही अवगुणहरुलाई औल्याउँदै नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनसहितको एजेन्डा अघि बढाएर नयाँ गठबन्धन गरे । जसलाई माओवादी केन्द्रले भने अलोकतान्त्रिक भन्दै आएको छ ।
राजनीतिक स्थायित्व र विकासका लागि काँग्रेस एमाले मिल्नुपर्ने बाध्यता औल्याएका शेरबहादुर देउवा र केपी शर्मा ओलीले दुई दलीय प्रणालीको परिकल्पना गर्दै संविधान संशोधन गर्ने समझादारी गरेका छन् । तर यसलाई कार्यान्वयन गर्न भने चुनौति देखिन्छ ।
नयाँ गठबन्धनको नेतृत्व गर्दै केपी शर्मा ओली प्रधानमन्त्री बनेको तीन महिना पुग्न लाग्यो । तर संविधान संशोधनका लागि कुनै औपचारिक थालनी भएको छैन । बरु सत्ता साझेदार दलबाटै यसप्रति अनिच्छा प्रकट हुन थालेका छन् ।
समानुपातिकता र समावेसीतामार्फत संरक्षित जनताका अधिकारलाई खुम्च्याइनसक्ने आशंकाबारे राष्ट्रियव्यापि चर्चा भइरहँदा काँग्रेस नेतृत्वले भने सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता औल्याएको हो ।
मुलुकका विविध पक्षलाई एकाबद्ध र अधिकार सम्पन्न गनुपर्ने काँग्रेसको यो जोडले वर्तमान संविधान संशोधनको योजनामा धक्का पुग्ने देखिन्छ ।
सत्तामै रहेका मन्त्रीहरुको यो अभिव्यक्तिले देउवा–ओलीबीच भएको संविधान संशोधन गर्ने सहमतिलाई भने प्रभाव पार्ने देखिन्छ । खासगरी प्रतिपक्षी दलहरु देउवा ओलीको योजनाअनुसार संविधान संशोधन गर्ने पक्षमा छैनन् ।
त्यस्तै काँग्रेसबाटै सरकारमा नेतृत्व गरिरहेका मन्त्रीहरुले पनि संविधान संशोधन जायज नहुने अभिव्यक्ति दिइरहेका छन् । यसले गठबन्धनको नेतृत्वकर्ता केपी ओलीमाथि धक्का पुग्ने संभावना बढेको छ ।
देउवा र प्रचण्डको मिल्दो लय
संविधान संशोधनको विषय अहिले ठूलै राजनीतिक बहसको रुपमा छ । यस्तोमा काँग्रेस–एमाले एकैठाउँ भएपनि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र पनि संविधान संशोधनको विषयमा नरम नै देखिन्छ । तर काँग्रेस र एमालेसँग संविधानका कुन कुन विषयलाई संशोधन गर्ने भन्नेमा माओवादीको मत फरक छ । प्रतिपक्षी दलहरु प्राप्त उपलब्धिलाई संस्थागत गरेर जनतालाई थप अधिकार सम्पन्न बनाउनउने पक्षमा उभिएका छन ।
उता नेपाली काँग्रेस पनि समावेशीता र समानुपातिकका सवालमा पुनरविचार गर्न नसकिने अभिव्यक्ति दिइरहेको छ । जसका कारण पनि संविधानप्रति देउवा र प्रचण्डको बुझाइमा एकरुपता देखिन्छ ।
गठबन्धनमा खतरा
काँग्रेस एमाले गठबन्धनपछि राजनीतिक वृतमा अनेकौँ प्रश्नहरु उठे । यो गठबन्धन दीर्घकालीन हुनेमा शंका कायमै छ ।
काँग्रेसकै शेखर कोइराला पक्षले पनि देउवा–ओलीको संविधान संशोधन गर्ने सहमतिप्रति ‘अब्जेक्शन’ जनाइसकेको छ । त्यस्तै दुई ठूला दलहरुको गठबन्धनमा कुनै एकले साथ छाडे सरकार तत्काल ढल्ने प्रतिपक्षीको बुझाइ छ ।
पछिल्लो गतिविधि र अभिव्यक्ति हेर्दा संविधान संशोधनकै विषयमा काँग्रेस–एमाले नेताहरुको मत मिल्दो छैन । जसका कारण प्रतिपक्षीको बुझाइ यथार्थमा परिणत नहोला भन्न सकिने अवस्था छैन ।
पछिल्लो समय संविधान संशोधनको सवालमा काँग्रेसको ट्युन एमाले भन्दा प्रतिपक्षी दलहरुसँगै मिलाइरहेको छ । जसका कारण पनि गठबन्धनमा खतरा पैदा हुनसक्ने आशंका बढीरहेको हो ।