News 24 Television
पोखरामा सातै प्रदेशका पर्यटनमन्त्रीको भेला, पर्यटन विकासमा चासो  

काठमाडौं । पर्यटनबाट देशको विकास गर्ने र विश्वमा नेपाललाई उत्कृष्ट गन्तव्य बनाउने विषयमा संघीय पर्यटन मन्त्रीसहित सातै प्रदेशका पर्यटनमन्त्रीले सामुहिक ऐक्यवद्दता जनाएका छन् । 

गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा भएको बैठकले सामूहिक घोषणा जारी गर्दै यो निर्णय गरेका हुन । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि प्रसाद पाण्डको संयोजकत्वमा सातै प्रदेशका पर्यटन मन्त्री र स्थानीय तहका प्रतिनिधि सहभागि विषयगत समितिको बैठक पोखरामा सम्पन्न भएको छ । 

बैठकले पर्यटन क्षेत्रका समस्या र समाधानका विषयमा छलफलपछि विविध निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । बैठकले पदमार्ग विकास र विस्तारको मापदण्ड सूचक र सहकार्य सम्बन्धमा अध्ययन गर्न संघीय मन्त्रालयका सह–सहसचिवको नेतृत्वमा अध्यन समिति गठन गर्ने निर्णय गरेको छ । 

समितिमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, टान नेपाल र सातै प्रदेशका पर्यटन सचिव, गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधि समितिमा सदस्य रहने छन् । समितिले तीन महिनामा पर्यटन पूर्वाधारको विकास विस्तारमा साझेदारी, लगानी र संचालनको ढाँचा विषय अध्यन गरि अर्को बैठकमा पेश गर्ने गरि निर्णय गरेको छ । 

समितिले पर्यटन शुल्क र दस्तुर संकलन, बाँडफाँड र उपयोगका सम्बन्धमा राष्ट्रिय मापदण्ड तय गर्न संघीय सरकारलाई सिफारीस गर्नेछ । संघीय मन्त्रालयले तयार गरेको पर्यटन सम्बन्धी विधेयकको मस्यौदामा प्रदेश सरकारबाट यथासिघ्र सल्लाह सुझाव पठाउने, एकिकृत सूचना प्रणाली विकास गरि लागु गर्ने र सडक मार्गबाट आउने पर्यटकको अभिलेखिकरण राख्न प्रदेश सरकारले आवश्यक निर्णय गर्ने बैठकले निर्णय गरेको छ ।  

पर्यटकीय गन्तब्य पहिचान र प्रत्येक प्रदेशमा १०÷ १० वटा गन्तब्य पहिचान गरि नेपाल पर्यटन बोर्डलाइ सिफारीस गर्ने र बोर्डले प्रोफाइल बनाउने भएको छ । विषयगत समितिको तीन÷तीन महिनामा बैठक बस्ने र आगामी बैठक लुम्बिनी प्रदेशको ठाकुरद्धारामा बस्ने निर्णय गरिएको छ । 

भारतीय पर्यटकले स्थलमार्गबाट आउदा भोग्नु पर्ने समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीको अध्यक्षतामा हुने समन्वय परिषद्को बैठकमा लैजाने पनि समितिले निर्णय गरेको छ । यस वर्ष १६ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य छ पुरा गर्न पर्यटक मैत्री वातावरणका लागि तीनै तहका सरकारले समन्वय गर्ने गरी योजना निर्माण गरिने पर्यटनमन्त्री पाण्डेले जानकारी दिए ।  

बैठकमा सहभागी प्रतिनिधिहरुले पर्यटन विकासबारे नितिगत निर्णय गर्दा देखाईने तदारुकता कार्यान्वयनमा जाँदा भने फितलो भएको आरोप लगाएका थिए । साथै अन्य मन्त्रालयसँग गरिने सहकार्य निकै कम भएको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update