काठमाडौं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्याधिक पहिरोका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ ।
सिद्धार्थ राजमार्ग भएर दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन् । तर, कमजोर भूगोलसहितको अग्लो भीर भएकाले बर्खामा लेदो र हिउँदमा सुक्खा पहिरो खस्ने भएकाले सवारी आवागमनमा समस्या हुँदै आएको छ ।
दुर्घटना कम गर्न र सवारी आवागमन सहज बनाउन भन्दै सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको थियो । तत्कालीन सरकारले देशका ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो जसमा सिद्धबाबा सुरुङमार्गसमेत प्राथमिकतामा परेको थियो ।
तिनाउ गाउँपालिका–३, पाल्पातर्फको सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फकै ड्यामसाइड रामापिथेकस पार्कसम्म सुरुङमार्ग निर्माण हुनेछ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सन् २०२२ मार्च ९ मा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौता अनुसार २२ मार्च २०२७ मा निर्माण सक्नुपर्ने छ । यस आयोजनामा १ हजार १ सय २६ मिटर लामो मुख्य सुरुङ रहेको छ । डेढ महिनाअघिदेखि विस्फोटक पदार्थ प्रयोग गरेर काम गरिएको छ । अहिले सुरुङको भौतिक प्रगति २४.१७ प्रतिशत र वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
त्यस्तै पछिल्लो समय सिद्धबाबा सुरुङमार्गको कामले तीव्रता पाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ५ सय ४५ मिटर लामो सुरुङ खनेसँगै दुई वटा बाइपास टनेल छिचोलिएको छ ।
तीन वटा टनेलमध्ये पहिलो नम्बरको बाइपास टनेलको १ सय ३७ मिटर र पहिलो नम्बरको बाइपास टनेलको १३७ मिटर खनेपछि ‘ब्रेक थ्रू’ गरिएको छ । दोस्रो बाइपास टनेल हालसम्म १ सय १७ मिटर खनिएको छ । सो टनेल पनि केही दिनभित्रै ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ ।
सिद्धबाबा सुरुङ मार्गका फाइदा
– घुमाउरो र जोखिमपूर्ण पहाडी सडकहरूको सट्टा सुरुङमार्गले यात्रा छिटो बनाउँछ ।
– पहिरो र ढुंगा खस्ने जस्ता प्राकृतिक जोखिम कम हुँदा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्छ ।
– व्यापार र उद्योगमा सहयोग पुग्यो, किनकि सामानको ढुवानी छिटो र सस्तो हुन्छ ।
– पाल्पा, तानसेन, र लुम्बिनी जस्ता प्रमुख गन्तव्यहरूमा जाने पर्यटकहरूको संख्या बढ्छ ।
– सिद्धबाबा मन्दिरमा जाने तीर्थयात्रीहरूको यात्रा सहज र सुरक्षित हुन्छ ।
– यात्रा छोटो हुँदा ईन्धनको बचत र यात्रामा लाग्ने खर्चमा कमी ल्याउँछ ।
सिद्धबाबा सुरुङमार्गको दीर्घकालीन प्रभाव नेपालका अन्य पहाडी क्षेत्रहरूमा पनि देखा पर्ने अपेक्षा गरिएको छ ।
यो परियोजनाले अन्य जोखिमपूर्ण क्षेत्रहरूमा पनि यस्तै आधुनिक पूर्वाधारको आवश्यकता औंल्याएको छ । नेपालको यातायात प्रणालीमा सुधार गर्नका लागि यसले सजग गराएको छ भने भविष्यमा अन्य सुरुङ मार्गहरूको निर्माणमा ध्यान दिनुपर्ने कुरा स्पष्ट पारेको छ ।