News 24 Television
हिमाल आरोही बढ्दै, फोहर ब्यवस्थापनमा अन्योल

काठमाडौं । शरद याममा १६ हिमाल आरोहणका लागि पर्यटन विभागबाट हालसम्म ४ सय १० जनालाई अनुमति दिईएको छ । मनासलु हिमालमा मात्रै २८ समुहका तीन सय ८ जनाले आरोहणका लागि अनुमति लिएका छन् । 

अटम सिजन अर्थात् शरद् याममा मात्रै हिमाल आरोहणका लागि पर्यटन विभाग बाट हाल सम्म ४ सय १० जनाले अनुमति पाएका छन् । मौसमका कारण यो सिजनमा सगरमाथा, लोत्से, कञ्चनजङ्घा, र चोयु लगायतका हिमालमा अरोहण कम हुन्छ । विशेषगरी यो सिजन धवलागिरी, अन्नपूर्ण मनासलु, अपि सहितका हिमालहरु आरोहणका लागि उपयुक्त मानिन्छ । अहिलेसम्म पर्यटन विभागले आरोहणका लागि ६० हिमाल मध्ये १६ हिमालमा अनुमति दिएको छ भने अनुमति लिनेमा ४८ समुहका ३ सय २० पुरुष र ९० महिला रहेका छन् । यी आरोहीबाट विभागले ३० लाख ९८ हजार डलर राजस्व समेत संकलन गरेको छ । 
 
विभागबाट सबै भन्दा बढी मनासलु हिमालमा आरोहणका लागि अनुमति पाएका छन् । यो हिमालमा २८ समुहका २ सय २६ पुरुष र ८२ महिला गरि जम्मा ३ सय ८ जनाले अनुमति पाएका छन् । 

त्यसैगरी, पुथा हिमचुलीमा ३ समुहको १३ पुरुष र ३ महिला गरि १६ र धवलागिरी हिमालमा एकै समुहका १४ जना पुरुषले अरोहणको अनुमति लिएका छन् । गतवर्ष धवलागिरी हिमालमा ३ समूहले आरोहणको अनुमति लिएका थिए तर यो बर्ष हालसम्म एक समुहले मात्रै अनुमति लिएको छ । अहिलेसम्म अन्नपूर्ण प्रथम आरोहणका लागि कुनै समुहले अनुमति मागेको छैन । 

अन्नपूर्ण र धवलागिरी हिमाल म्याग्दी जिल्लामा पर्छ । यी हिमालको रेन्जमा मात्रै एक दर्जन भन्दा बढी हिमालका चुचुरा छन् । हिमाल आरोही बढ्दै जाँदा फोहर ब्यवस्थापन अर्को चुनौति बनिरहेको छ । हिमाल आरोहणका लागि विदेशी पर्यटकहरु पनि उत्तिकै बिढिरहेका छन् । 

जसले गर्दा पर्यटन प्रवद्र्धनका साथै राजश्व संकलनमा पनि टेवा पुगेको छ । तर फोहर ब्यवस्थापनबारे उचित निर्णय हुन सकिरहेको छैन । 

यसअघि बसन्तयाममा हुने सगरमाथा आरोहणमा आरोहीको दिशा पिसाव व्यवस्थापनका लागि पुब व्याग लैजानुपर्ने अनिवार्य व्यवस्था गरीएको थियो । 

सगरमाथालाई परीक्षणको रुपमा हेदै अन्य हिमालहरुमा पनि यो व्यवस्था लागु गर्ने भनिएको पनि आवश्यक कानुनको अभाव र पुुब व्यागको व्यवस्थापनमा चुनौति हुदाँ यस बर्ष यी हिमाल आरोहणमा पुब व्याग अनिवार्य नगरिने भएको छ ।   

नेपालका हिमश्रृंखलाहरु सुन्दरताको एउटा नमुना हो । हिमाली क्षेत्रको हावा पानी एकै समयमा उस्तै उस्तै हुन्छ तर एकै समय सबै हिमाल आरोहणका लागि उपयुक्त मानिदैंन  ।

बसन्त याममा सगरमाथा, लोत्से, कंन्ञ्चनजंङ्गा, मकालु र चोयु हिमाल आरोहणका लागि उपयुक्त हुन्छ भने शरद रितुमा मनासलु लगायतका हिमाल आरोहणका लागि उपयुक्त समय मानिन्छ । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update