News 24 Television
रविन्द्र मिश्रले खुलासा गरे प्रचण्डको छटपटी, प्रचण्डले गरे राजा महेन्द्रको प्रशंसा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा महेन्द्र शाहको प्रशंसा गरेका छन् । राष्ट्रवादी, विकासशील एवं दूरदर्शी सोच राखी दलहरुलाई प्रतिबन्ध लगाएर पञ्चायती शासन चलाएका महेन्द्रको उक्त कदम धेरै दुरदर्शी रहेको प्रचण्डले स्वीकारेका हुन् । विगतमा पञ्चायत काललाई अँध्यारो युग भन्दै महेन्द्रलाई गाली गर्नेमा प्रचण्डलगायत माओवादी नेताहरु नै थिए । अहिले आएर महेन्द्र ठीक थिए भन्ने सोचमा प्रचण्ड पुगेको राजसंस्था फर्काउने अभियानमा लागेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले खुलासा गरेका छन् । मंगलबार बिहान मिश्र प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । उक्त क्रममा प्रचण्ड पूर्व राजसंस्थाप्रति सकारात्मक देखिएको मिश्रले बताएका छन् । 

प्रचण्डसँगको भेटमा मिश्रले अब देश सुधार्नै नसकिने अवस्थामा पुगेको बताउँदै राजसंस्थालाई पुनस्र्थापित नगर्ने हो भने ‘विस्फोटनको अवस्था’ आउने बताए । रवीन्द्रको उक्त प्रस्तावमा प्रचण्ड पूरै सहमत नभइसकेको तर राति राति सुत्ने बेला देश यस्तै अवस्थामा बन्दैन भनेर आफूले सोच्ने गरेको प्रचण्डको भनाइ थियो । मिश्रका अनुसार प्रचण्डले पछिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकका उद्योग–धन्दाहरूको सबै विवरण मागेर हेर्दा पञ्चायतकालमा धेरै राम्रो विकास भएको भनी बताएका छन् । राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन् भन्दै प्रचण्डले प्रशंसा गरेको र अहिलेको स्थितिबाट देश चल्दैन भन्ने निष्कर्षमा प्रचण्ड पुगिसकेको मिश्रको दाबी छ । पूर्वराजा ज्ञानेन्द्र २०६२÷०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो भनी प्रचण्डले वस्तुस्थिति स्वीकार गरेको मिश्रले फेसबुकमा लेखेका छन् । 

मिश्रको भनाइलाई पत्याउने हो भने प्रचण्ड वर्तमान काँग्रेस–एमालेको सरकारविरुद्ध राजावादीसँग मिल्न पनि बेर लाउँदैनन् । उनले रास्वपा, एकीकृत समाजवादी लगायत साना दलको मोर्चाबन्दी गरिसकेका छन् । सोमबार संविधान निगरानी समूहद्वारा आयोजित कार्यक्रममा प्रचण्ड र मिश्र लगायत विज्ञहरुले एकै मञ्चबाट सम्बोधन गरेका थिए । त्यसक्रममा मिश्रले वर्तमान संविधान प्रचण्डको संविधान रहेको टिप्पणी गर्दै अब नेपालको खास संविधान लेख्न आवश्यक भएको बताएका थिए । 

आजको वास्तविकता पनि प्रचण्डबाट नै उजागर भएको र अब सुधारको लागि पनि प्रचण्डले समयानुकुल सोच्नु जरुरी रहेको मिश्रको भनाइ थियो । सशस्त्र द्वन्द्वकालका १० वर्षमा प्रचण्डकै वरिपरि नेपालको राजनीति घुमेको बताउँदै मिश्रले प्रचण्ड मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उनकै वरिपरि राजनीति घुमिरहेको दाबी गरे । संघीयतामा तल–तलसम्म अधिकार पु¥याउने नाममा भ्रष्टाचार मात्र लगेको आरोप लगाउँदै उनले अब देश सम्हाल्नै गाह्रो स्थितिमा पुगेको जिकिर गरे । 

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको स्वीकार्दै त्यसमा ठूला दलहरु गम्भीर बन्नुपर्ने बताए । उनले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई नभएको पनि बताए । साथै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डालाई कथा बनाएको तर यथार्थमा उनीहरु संशोधनप्रति गम्भीर नरहेको बताए । 

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार भएको बताएका छन् । १० वर्षसम्म आधारभुत कानून नबनाउने अनि संविधान संशोधन हुनु हुँदैन भन्ने कुरा गलत रहेको उनको भनाइ छ । संविधान जतिसुकै राम्रो भए पनि कार्यान्वयन नभएमा त्यसको कुनै अर्थ नहुने भन्दै उनले कार्यान्वयन नहुनु आफैँमा संविधान पुनरावलोकनको एउटा आधार भएको तर्क गरे । 

पछिल्लो समय संविधान संशोधनको बहस सतहमा देखिए पनि कुन–कुन एजेन्डामा संशोधन गर्ने भन्नेबारे दलहरुका र विज्ञहरुका फरकफरक मत रहेका छन् । राप्रपाजस्तो राजावादी दलका नेताहरुले भने वर्तमान संविधान संशोधन गरेर पनि पार नलाग्ने भन्दै खारेज नै गर्नुपर्ने बताइरहेका छन् । अबको प्रमुख द्वन्द्व भनेको राजसंस्था कायम राख्ने या नराख्ने, संघीयता खारेज गर्ने कि सुधार्ने, धर्म निरपेक्षता, पहिचानका मुद्दा र अन्य नागरिक अधिकारका सवालमा देखा पर्ने विकसित घटनाक्रमहरुले पुष्टि गर्दै आएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update