काठमाडाैँ । बैंकिङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रका लागि बाटो खुला भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडालले यसकाे जनकारी दिएका हुन् ।
उनले पहिला बैंकिङ कसुरको चेक अनादर मात्रै रहेको तर अहिले सहकारी ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुरमा मुद्दा चल्ने बताए । ऋण प्रवाहसँग सम्बन्धित भएर गएका विषयवस्तुहरु पनि मिलापत्र गर्न दिनुपर्छ भन्ने निस्कर्षमा आफूहरु पुगेको उनले बताए ।
हालै संसदले दिएको सुझावले पनि पीडितलाई छिटो भन्दा छिटो राहत दिनेगरी अघि बढ्नुपर्ने अवस्था रहेको बताउँदै उनले फौजदारी मुद्दा मिलापत्र गर्ने विषय नेपालमा नयाँ भएको बताए । अहिलेसम्म प्राकृतिक व्यक्तिलाई मात्रै सर्वसाधारण व्यक्ति भन्दै/मान्दै आएकामा अबदेखि कानूनी व्यक्ति पनि सर्वसाधारणभित्र पर्ने सर्वोच्च अदालतको फैसलापछि कानूनी व्यक्ति अर्थात संस्थाहरुको विषय पनि मिलापत्रभित्र समावेश गर्नेगरी निर्देशन दिएको उनकाे भनाइ छ ।
अपराधिक विश्वासघात, ठेक्कापट्टासँग सम्बन्धित रहेका कतिपय घटनालाई पनि अवस्था हेरी मिलापत्र गर्नसक्ने व्यवस्था गरिएको बडालकाे भनाइ छ । उनले धेरै सजाय माग गर्नु मात्रै समस्याको समाधान नभएकाले सम्बन्धित मुद्दाअनुसारको अभियोजन हुनुपर्ने बताए ।