News 24 Television
पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितको नाराबाजी

पोखरा । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन मुद्दामा पक्राउ पर्ने हल्लासँगै पोखरामा रास्वपाका समर्थकले विरोध प्रदर्शन निकालेका थिए । यता सूर्यदर्शन सहकारीका पीडितहरूले सहकारी ठग आरोपी लामिछानेलाई रास्वपाले बचाउन खोजेको भन्दै विरोध प्रदर्शनमा निस्किए । सोमवार दुवै पक्ष आमने–सामने भएर चर्को नाराबाजी सहित प्रदर्शनमा उत्रिएका थिए । 

सोमबार बिहानको १० नबज्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केही दर्जन कार्यकर्ता पोखराको सहिद चोकमा भेला भएका थिए । सभापति रवि लामिछानेलाई सरकारले फसाउन खोजेको भन्दै उनीहरु नाराबाजी सहित प्रदर्शनमा उत्रिएका थिए । सहकारी पीडितलाई न्याय देउ भन्दै नाराबाजी गरेपनि उनीहरूले आफ्ना सभापति लामिछानेलाई भने सहकारी ठगी अभियोगमा निर्दोष बताउँदै आएका थिए । 

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा लामिछाने पक्राउ पर्न सक्ने भएपछि रास्वपाका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । यता, उनीहरूको प्रदर्शनको एक घण्टा लगत्तै सूर्यदर्शन सहकारी बचत संघर्ष समितिका सदस्यहरूले पनि रास्वपाकै कार्यकर्ता भएको स्थानको अगाडि गएर रवि लामिछाने विरुद्ध चर्को नाराबाजी गरेका थिए । रास्वपाका कार्यकर्ता र सूर्यदर्शन सहकारीबाट ठगिएका बचतकर्ताहरू आमने सामने हुँदा स्थितिलाई नियन्त्रणमा लिनको लागि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राई मात्र दोषी भएको र रवि लामिछाने निर्दोष भएको र नक्कली सहकारी पीडित खबरदार भन्दै रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए । 

सूर्यदर्शन सहकारी ठगी काण्डमा व्यक्ति रवि लामिछाने दोषी भएपनि अहिले आएर सिङ्गो रास्वपाले नै लामिछानेको बचाउन गर्नुले पार्टी नै ठगीको पक्षमा लागेको भन्दै सहकारी पीडितहरूले विरोध जनाएका छन् । 

रास्वपाका कार्यकर्ता लामिछाने पक्राउ पर्ने डरले यसरी प्रदर्शनमा उत्रनु चोरको खुट्टो काट भन्दा खुट्टा ताने जस्तै भएको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठको भनाई छ । 

सुर्यदर्शन सहकारीका पीडितहरूले रास्वपा सभापति लामिछाने विरुद्ध गत माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी अभियोग लगाएर जाहेरी दिएका थिए । संसदीय छानबिन समितिले पनि सहकारीबाट गैरकानुनी रूपमा गोरखा मिडिया प्रालीमा ६५ करोड रूपैयाँ लगेको र त्यो रकम लामिछानेले चेक काटेर खर्च गरेकाले उनी सहितको टिमलाई कारबाही गर्न सिफारिस गरिसकेको छ । सहकारी ठगिकै आरोपमा गोरखा मिडियाका अर्का सञ्चालक छविलाल जोशीलाई काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइसकेको छ । 

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update