News 24 Television
प्रधानमन्त्री ओली र मोदीको भेटमा के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुनु र अमेरिकामा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनु अहिलेको चर्चाको मुख्य विषय बनेको छ । 

अघिल्लो कार्यकाल ओली प्रधानमन्त्री हुँदा चर्केको नक्सा युद्धका कारण मोदी र ओलीबीच राम्रो सम्बन्ध बन्न सकेको थिएन । यसैकारण ओली प्रधानमन्त्री भएपछि भारतले उनलाई भ्रमणको निम्तो दिएन, तर ओली आफै दुईपटक मोदीलाई नेपाल भ्रमणको निम्तो दियो । अनेक आशंकाका बीच अन्ततः दुई नेताबीच न्युयोर्कमा हार्दिक भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका दुवै प्रधानमन्त्रीबीच नेपाली समयअनुसार सोमबार बिहान करिब ३० मिनेट लामो भेटवार्ता भएको बताइएको छ । मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा उक्त भेटवार्ता भएको हो । भेटमा दुवै देशमा परराष्ट्र मन्त्री, विदेशमन्त्री तथा सचिवसहितको प्रतिनिधिमण्डल सहभागी थियो । 

modi-oli2-1727065438.JPG
 

भेटमा आपसी हितका विविध पक्षबारे कुरा भएको र सम्बन्ध सुधारका लागि यो भेट महत्वपूर्ण रहेको  बताइएको छ । । भारतीय प्रम मोदीले उक्त भेटलाई धेरै राम्रो भनेका छन् । सामाजिक सन्जाल एक्समा तस्वीर शेयर गर्दै मोदीले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यू योर्कमा धेरै राम्रो भेट भयो । भारत–नेपाल सम्बन्ध धेरै मजबुद छ र हामीले यसलाई अझ गति दिन खोजिरहेका छौँ । भेटमा ऊर्जा, प्रविधि र व्यापार सम्बन्धमा कुराकानी भयो ।’

GYHs213XEAAM7qB-1727065438.jpg

न्युयोर्कको यो भेटमा पनि प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणमा आउन निम्तो गरेको बताइएको छ । जवाफमा मोदीले चाँडै नेपाल भ्रमणमा आउने बताए । भेटमा सहभागी परराष्ट्र मन्त्री आरजु राणाका अनुसार प्रधानमन्त्री ओली र भोदीबीच साह्रै सौहाद्र वातावरणमा भेटवार्ता भएको थियो भने ओलीको निम्तो मोदीले सहजै स्वीकारेका थिए । 

भेटमा दुई देशका साझा समस्या, इपिजी प्रतिवेदनबारे अनौपचारिक कुरा तथा राजनीतिक, आर्थिक एजेन्डामा कुराकानी भएको बताइएको छ । साथै नेपाल–भारत ऊर्जा व्यापार सम्झौता र नेपाल–भारत–बंगलादेश त्रिदेशीय ऊर्जा व्यापारबारे समेत कुराकानी भयो । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update