काठमाडौं । विद्यालयल तहको पाठ्यक्रम उमेर अनुसारको सिकाई अनुरुप नभएको भन्दै पाठ्क्रम परिमार्जन गर्ने तयारी गरिएको छ ।
अहिलेको पाठ्यक्रम सिकाइ केन्द्रित भन्दा पढाई केन्द्रित र विद्यार्थीको बुझाई भन्दा बढि गाह्रो भएको भन्दै पाठ्यक्रम परिमार्जन गर्न लागिएको हो । अब नयाँ बनाइने पाठ्यक्रममा कस्ता कुरा समेट्ने त ? यसबारे छलफल थालिएको छ ।
मानव जीवनका अनौपचारिक मात्रै होइन औपचारिक शिक्षाको पनि ठुलो महत्व हुन्छ । पाठ्क्रमको गुणस्तरता र प्रभावकारीता अनुसार शिक्षाको प्राप्ति हुने गर्छ । तर, पाठ्यक्रमको सङ्गठित सिकाइ र उपलब्धिहरू भने व्यवहारमा लागू गर्न मिल्ने हुनुपर्दछ ।
साथै यसरी प्रदान गरिने औपचारक शिक्षा, समय सापेक्ष, विद्यार्थीको उमेर अनुसार सिक्न सक्ने खालको हुनुपर्दछ । तर अहिले विद्यालय स्तरमा पठाई हुने कतिपय विषयहरु विद्यार्थीको सिकाई र बुझाई भन्दा गाह्रो भएको भन्दै अहिले विद्यालय तहको पाठ्क्रम परिमार्जन गर्ने तयारी थालिएको छ ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार चालु आर्थिक वर्षमा इसीडीको कक्षा १, ३ को समाजिक, कक्षा ४ देखि १२ सम्मको को पाठ्यक्रम परिमार्जन गरिने तयारी छ ।
यसैगरी २०८२ मा ६ र ८ र ११ र १२ को पाठ्क्रम तथा २०८३ मा कक्षा ४, ५ र ९ र १० को परिमार्जन गर्ने तयारी रहेको केन्द्रको भनाइ छ ।
पाठ्यक्रम पूर्ण शैक्षिक योजना र पूर्ण प्रणाली हो । पाठ्यक्रम देशमा आएको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन, विज्ञान तथा प्रविधिमा भएको द्रुत विकास, अध्ययन अनुसन्धानबाट प्राप्त उपलब्धी र नागरिकका इच्छा, आकांक्षा र आवश्यकतालाई समेत पूरा गर्नका लागि पाठ्यक्रमको संशोधन एवं परिमार्जन गर्ने गरिन्छ ।
नेपालमा पहिलो पटक २०२८ सालमा नयाँ शिक्षा पद्धतिको योजनादेखि देशभर एकरूपता कायम गरी विद्यालय तहको पाठ्यक्रम बनाउन थालिएको हो ।
२०३६ सालको जनमत संग्रहपछि पञ्चायत अनुकूल र २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्वहालीपछि तदनुरूपको शिक्षा प्रणाली स्थापित गर्न २०४९ सालमा पाठ्यक्रम परिवर्तन गरिएको थियो ।
यसैगरी २०६३ सालपछि मुलुक गणतान्त्रिक व्यवस्थामा गएपछि उक्त राजनीतिक परिवर्तनलाई शिक्षामा आत्मसाथ गर्न भन्दै पुनः विद्यालय तहको पाठ्यक्रम परिमार्जन भएको थियो ।
अहिलेको पाठ्यक्रम नयाँ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने शैक्षिक रूपरेखाका रुपमा हेरिन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ का अनुसार अहिले हरेक पाँच पाँच वर्षमा आश्यकता अनुसारको पठ्क्रम परिमार्जन गर्ने गरिएको छ ।
अहिले व्यवहारिक शिक्षाको अवस्था कमजोर रहेको छ । त्यसैले अब परिमार्जन गरिन लागिएको तथा भविष्यमा परिमार्जन गरिने पाठ्क्रमलाई पुस्तक तथा कक्षाकोठा केन्द्रित बनाउँने भन्दा पनि व्यवहारीक ज्ञान, सिप, सामुदायिक कार्य, परियोजना कार्य जस्ता विषययलाई प्राथमिक्तामा राख्न आवश्यक छ ।