लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनी आउने धेरै स्वदेशी र विदेशी पर्यटकलाई बृहत्तर लुम्बिनी क्षेत्रबारे जानकारी हुँदैन । पर्यटक लिएर नेपाल आउने र लुम्बिनी क्षेत्रमा रहेर काम गर्ने टुरिष्ट गाइडलाई पनि लुम्बिनीको बारेमा विस्तृत जानकारी हुँदैन ।
त्यसैले लुम्बिनी आएका अधिकांस पर्यटकले यहाँको सबै जानकारी नपाउने हुँदा उनीहरुले बृहत्तर लुम्बिनी क्षेत्र भम्रण नै गर्दैनन् । यही कुरालाई मनन् गर्दै अब लुम्बिनी आउने पर्यटकलाई बृहत्तर लुम्बिनीको एकीकृत रुपमा जानकारी गराउन पर्यटक गाइड बुक लुम्बिनी प्रकाशन गरिने भएको छ ।
बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको गृहनगर कपिलबस्तु, अस्थीधातु रहेको रामग्राम र मावली देवदहसहित आसपासका बुद्धस्थल र अन्य पर्यटकीय क्षेत्रहरुको समेत जानकारी समेटेर पर्यटक गाइड बुक प्रकाशन गर्न लागिएको छ ।
लुम्बिनी आउने स्वदेशी तथा विदेशी पर्यटक र गाइडहरुलाई लुम्बिनी क्षेत्र र आसपासका पर्यटकीय गन्तव्यबारे पूर्णरुपमा जानकारी नहुँदा सबै ठाउँमा पुग्न सकेका छैनन् ।
यसैले नेपाल पर्यटन बोर्ड अन्तर्गत यूएनडीपीसँगको सहकार्यमा सञ्चालित दिगो पर्यटन पुनर्उत्थान परियोजना, लुम्बिनी विकास कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहकार्यमा पर्यटक बुक लुम्बिनी प्रकाशनको अन्तिम तयारी गरिएको हो ।
बुक प्रकाशनका लागि अहिले बृहत्तर लुम्बिनी क्षेत्रबारे जानकार, विज्ञ, जनप्रतिनिधि लगायत सरोकारकावालसँग छलफल गरी अन्तिम रुप दिने तयारी गरिएको छ ।
पर्यटक गाइड बुक प्रकाशनपछि बृहत्तर लुम्बिनीका बारेमा एकैखालको सन्देश आन्तरिक र बाह्य पर्यटकहरुमाझ पुग्ने विश्वास गरिएको छ ।
लुम्बिनी आउने पर्यटकहरुको बसाइँ अवधि छोटो भएको बिषयमा सर्वत्र चिन्ता र चासो छ । पर्यटक गाइड बुकले लुम्बिनी आउने पर्यटकहरुले यसको पुरातात्विकसँगै धार्मिक महत्वका बारेमा पनि जानकारी लिँदा त्यसले लुम्बिनीको प्रवद्र्धनमा ठूलो योगदान गर्ने विश्वास छ ।
लुम्बिनी र बुद्धस्थलसँगै अरु प्राकृतिक र सांस्कृतिक पक्षलाई समेट्दा पर्यटकको बसाइँ अवधि लब्याउन सकिने सरोकारवालाको बुझाई छ । पर्यटकहरु सूचनाको अभावका कारण धेरै भ्रमण नगर्ने परिपाटी रहेकोमा पर्यटक गाईड बुकले त्यसलाई चिर्ने विश्वास गरिएको छ ।
गुणस्तरीय पर्यटक भित्र्याउनका लागि पर्यटन टुर गाइड बुकले सहयोग गर्ने र अब होटल व्यवसायीदेखि सबै पक्षले गुणस्तर कायम राख्नुपर्नेमा पनि धेरैको मत छ ।
नेपाली र अंग्रेजी भाषामा प्रकाशन गरिने पर्यटक गाइड बुकमा बृहत्तर लुम्बिनी क्षेत्रको परिचय, पुरातात्विक महत्व, ऐतिहासिकता लगायत विषय समेटिने छ । यस्तै, बौद्धकालिन आसपासका क्षेत्रलाई पनि समेटिने छ ।
पर्यटन व्यवसायीहरुले समेत सूचनाको अभावमा कयौं पर्यटकहरु मायादेवी मन्दिर मात्रै भ्रमण गरेर जाने गरेको गुनासो गर्दै आएका छन् । बुक प्रकाशन पछि यसलाई चिर्न मद्दत पुग्ने छ भने गाइडपिच्छे फरकफरक जानकारी पाउँदा पर्यटकहरुमा परिरहेको दुविधा पनि हट्ने छ ।
अर्कातर्फ एउटै पुस्तिकाबाट धेरै ठाउँबारे जानकारी पाउँदा बृहत्तर लुम्बिनी क्षेत्रमा रहेर पनि ओझेलमा परेका अन्य गन्तव्यको महत्वलाई बाहिर ल्याउन र प्रचारप्रसार सहयोग पुग्ने विश्वास गरिएको छ ।