काठमाडौं । मान्छे सबैका चाहना अनेक हुन्छन् । अनि, फरक–फरक पनि । कोही घरमै बस्न रुचाउँछ, कोही घुम्न, कोही हिमाल–पहाड चढ्न, कोही अनेकौ प्रकारका खानाको स्वाद लिन मन पराउछ त कोही शिकार गर्न ।
यस्तै चाहना मध्ये शिकारको चाहना पुरा गर्न नेपालको ढोरपाटन क्षेत्र अर्थात ‘ढोरपाटन शिकार आरक्ष’ सधैं चर्चामा रहने गर्छ । घुम्ने उपयुक्त मौसम हुँदै गएको यस अवस्थामा अहिले कस्तो छ त ढोरपाटनमा शिकारको अवस्था ?
शिकारका लागि नेपालमा एक मात्रै क्षेत्र छुट्याइएको छ । त्यो हो ‘ढोरपाटन सिकार आरक्ष’। पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ ढोरपाटन । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ ।
यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ । साहसिक शिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ । हाल नाउरको रु एक लाख ५० हजार र झारलको रु ७५ हजार न्यूनतम राजस्व तोकिएको छ । बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेका छन् ।
कस्तो छ शिकारको अवस्था ?
– गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको शिकार गर्न रु २३ लाखसम्म कबोल गरियो
– झारलको हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम रु १८ लाख बोलकबोल गरियो
– अघिल्लो आवमा १९ वटा नाउर र ११ वटा झारलको शिकार अनुमति
– यसबाट कुल रु. चार करोड २६ लाख ८८ हजार ७०० राजस्व आम्दानी
– आरक्षमा घारल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको शिकार खेल्ने अनुमति दिने गरिएको छैन ।
ढोरपाटनमा कसरी गर्ने शिकार ?
– शिकार गर्नका लागि शिकारीलाई १४ देखि २१ दिनसम्मको समय प्रदान
– शिकारीले अनुमति प्राप्त बन्दुक आफ्नो देशबाट ल्याउने र त्यसैले शिकार गर्ने
– शिकारीका लागि प्रदान समय अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ ।
– हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने
– दुई दर्जन बढी व्यक्तिको सहयोगी समूह आवश्यक पर्ने
– निकै दुर्गम भएकाले यहाँ शिकार गर्न खर्चिलो छ ।
– नाउरको तौल औसतमा ७० केजीभन्दा बढी
– शिकारीले शिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (सिङ, छाला र खुर) कानूनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् ।
– शिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने
यो वर्ष पहिलो सिजनमा कति कोटा ?
– यो वर्ष पहिलो सिजनका लागि २४ नाउर र १६ झारलको शिकार गर्न कोटा
– आरक्षमा दुई सिजनमा शिकार खेल्ने व्यवस्था
– पहिलो सिजन असोज–कात्तिक र दोस्रो सिजन चैत–वैशाखसम्म
– बुढो उमेरको भालेको मात्र शिकार गर्ने
– करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरि टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ।
विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुम पूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् ।
प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन्। यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चराहरू पाइन्छन्। वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई शिकार आरक्ष बनाइएको हो ।