News 24 Television
क्यान्सर पीडितलाई चौतारामा उपचार, निःशुल्क डाईलासिस 

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा अस्पतालमा निःशुल्क डाईलासिस सेवा शुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट चौतारा अस्पताल सिन्धुपाल्चोकलाई पाँच वटा डाईलासिस मेसिन उपलब्ध गराएपश्चात निःशुल्क डाईलासिस सेवा सञ्चालनमा ल्याइएको हो । सेवाले क्यान्सरका विरामीलाई राहत पुग्ने छ । 

सिन्धुपाल्चोकको चौतारा अस्पतालले आइतबारदेखि निःशुल्क डायलासिस सेवा सञ्चालनमा ल्याएको छ । कुनै समय सामान्य बिरामीलाई समेत अन्य अस्पतालमा रिफर गर्ने गरेको यस अस्पतालमा पछिल्लो समय सेवासुविधा विस्तार गर्दै लगिएको छ । 

सेवा विस्तार अन्तरगत नै संघीय सरकारको सहयोगमा निःशुल्क डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । अस्पतालले चौतारा साँगाचोकगढी नगरपालिका ५ ग्रैह्रिगाँउकी शर्मिला तामाङको निःशुल्क डाईलासिस गरि सेवा शुरुवात गरेको हो । चौतारा अस्पतालमै डाइलासिसपछि शर्मिलाले खुशी व्यक्त गरेकी छन् । 

७ वर्ष देखि डाईलासिस गर्न महिनाको ८ पटक काठमाडौं पुग्नुपर्ने बाध्यता अब हटेको भन्दै उनले खुशी ब्यक्त गरेकी हुन् ।    

अस्पतालमा हाल ५ वटा डायलासिस गर्ने उपकरणको व्यवस्थापन गरीएको छ । १ पटकमा ५ जना बिरामीलाई यो सेवा दिनको लागि १ जना डाक्टर र ३ जना तालिमप्राप्त नर्सले सेवा दिनेछन् । एकजना मृगौला पीडितले हप्तामा कम्तिमा २ पटक डायलासिस गर्नैपर्छ । 

सेवामा थप सहजताका लागि चौतारा अस्पतालले जिल्लाबाट बाहिर गएर डाईलासिस  सेवा लिइरहेका विरामीको समेत नामावली संकलन गरेको छ । उनीहरु मध्ये केहीले यसै अस्पतालबाट सेवा लिएका छन् भने केहीले सेवा लिने तयारी गरिरहेका  छन् ।

केही समय पहिले केवल रिफर सेन्टरको रुपमा खराब परिचय बनाएको थियो चौतारा अस्पतालले । तर, पछिल्लो समय यस अस्पतालको उपचार सेवामा उल्लेख्य सुधार देखिएको छ ।

हाल चिनियाँ सहयोगमा निर्माण भएको अत्याधुनिक भवनबाट  सेवा दिदै आएको चौतारा अस्पतालमा बिरामीको चाप समेत बढेको छ । केही जटिल रोगबाहेक सबै स्वास्थ्य समस्याको निदान र भरपर्दो उपचार पाउन थालेपछि बिरामीले सहज महशुस गरिरहेका  छन् । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update