News 24 Television
प्रचण्डविरुद्ध फायर खोल्दै देउवा, ओलीको साथले उत्साहित ! 

काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेसको नयाँ समीकरणपछि प्रतिपक्षी कित्तामा पुगेको माओवादी केन्द्र गठबन्धनप्रति उग्र बनेको अवस्था छ ।

निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई अप्राकृतिक र अस्वभाविक भन्दै आइरहेका छन् । नयाँ सरकार बनेपछि संसद र सडकबाटै आलोचनात्मक अभिव्यक्ति दिइरहेका प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओली लक्षित कटाक्ष गर्दै आएका छन् । 

प्रचण्डले आफू नेतृत्वको सरकारबाट भ्रष्टाचारीविरुद्ध फायर चल्दा नयाँ गठबन्धन बनाइएको बारम्बार दावी गर्ने गरेका छन् । नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपी धामाधम पक्राउ पर्न थालेपछि काँग्रेस–एमाले संवाद सुरु भएको र नयाँ गठबन्धन गर्ने सहमति भएको प्रचण्डको बुझाइ छ । 

नक्कली भूटानी शरणार्थी प्रकरण नेपाली काँग्रेससँग जोडिएको विषय हो । यद्यपि प्रचण्डले सत्ता परिवर्तनको विषयलाई लिएर सँधै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्रै प्रहार गर्दै आए । तर काँग्रेससँग भने प्रचण्ड सँधै नरम रहने रणनीति छन् । 

तर प्रचण्डले सरकार बनेको दुई महिना बढी भइसक्दा पनि गठबन्धनमाथि आलोचना गर्न नछाडेपछि काँग्रेस सभापति शेरबहादुर देउवा पनि प्रतिजवाफमा उत्रिन थालेका छन् । प्रचण्डलाई घुमाउरो जवाफ दिँदै देउवा काँग्रेस–एमाले गठबन्धको पक्षपोषणतर्फ केन्द्रीत हुन थालेका हुन् । 

प्रचण्ड प्रधानमन्त्री हुँदाको बखत सत्ताका लागि कचकच हुने गरेको स्मरण गर्दै देउवा ओलीसँगको सहकार्यबाट मुलुक र जनता नै आनन्दित भइरहेको टिप्पणी गर्छन् । 

मुख्यतः नेपाली काँग्रेस र नेकपा एमाले संसदको पहिलो र दोस्रो ठूला दल हुन् । लोकतान्त्रिक व्यवस्थामा दुई ठूला प्रतिस्पर्धी दलहरुले सरकार बनाउनुलाई अस्वभाविक मानिन्छ । यस्तो अवस्थामा सरकार मनोमानी ढंगले चल्नसक्ने र निरंकुशताको खतरा पैदा हुनसक्ने प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको बुझाइ छ । तर काँग्रेस एमालेले भने सुशासन र स्थिरताका लागि एकै ठाउँमा उभिएको दावी गरिररहेका छन् । 

यद्यपि हालसम्मको गततिविधि हेर्दा सरकार भ्रष्टाचार आरोपप्रति रक्षात्मक र प्रतिपक्षलाई पेल्ने रणनीतिमा देखिन्छ । पछिल्लो समय यसैलाई पक्षपोषण गर्न देउवा पनि सरकार र गठबन्धनको महिमा गान गर्न थालेका छन् । 

प्रचण्डको आफ्नै दावी 

काँग्रेस–एमालेको गठबन्धन बन्नुअघि देउवा र ओलीले साना दललाई ठेगान लगाउन संविधान संशोधनसम्मको सहमति गरका थिए । यो विषय राजनीति वृतमा छलफलको केन्द्र पनि बनिरहेको छ । तर संविधान संशोधनको विषयमा माओवादी केन्द्र सकारात्मक छैन । 

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको विषयमा भ्रष्टाचारविरुद्ध एक्सन लिँदा आफूलाई हटाइएको दावी गर्न पनि छाडेका छैनन् । सत्तामा रहँदा भ्रष्टाचारविरुद्ध निर्मम कदम चालेको विषयलाई नै हतियार बनाएर जनतामाझ गइरहेका प्रचण्डले माओवादीप्रति आकर्षण बढेको निश्कर्ष निकालेका छन् । 

पछिल्लो कार्यकालमा आफूले गरेका कामहरुको प्रभावकै कारण अहिले देशभर माओवादी प्रवेशको लहर चलिरहेको पनि प्रचण्डको दावी छ । 

खासगरी भ्रष्टाचार र शुसासनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच मतभेद छ । यसपछि आफूलाई राम्रो काम गर्दा गर्दै हटाइएको भन्दै प्रचण्ड पार्टीबाटै निर्णय गरेर देश व्यापापी भ्रमणमा निस्किए । यसक्रमा प्रचण्डले पछिल्लो समय माओवादी प्रति आकर्षण बढेको निश्कर्ष निकालेका हुन् । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update