News 24 Television
स्कुलमा मेयर बालेनको नयाँ प्रयोग, विद्यार्थी हौसिए !

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षामा सुधार र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न भन्दै ‘पुस्तक रहित शुक्रवार’ शुरु गरेको थियो । 

विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका विविध विषयमा जानकारी दिलाउने, सृजनात्मक सोच र व्यावहारिक ज्ञानमा अभ्यस्त बनाउने उद्देश्यका साथ काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’ले इतिहासमा गुरुकुलमा सिकाइने सिपमुलक शिक्षा विदेशी शिक्षाको आगमनसँगै छायाँमा परेकाले त्यसलाई शुरुवात गरेको जनाएका थिए । 

विद्यार्थीले सिपमुलक शिक्षाको माध्यमबाट श्रमलाई बुझ्ने र श्रमको सम्मान गर्ने संस्कृति सिक्ने महानगरको बुझाई थियो । ‘पुस्तक रहित शुक्रबार’ सञ्चालन भएको १५ महिना बढि भइसकेको छ र, यसले विद्यार्थीमा आत्मविश्वास बढाएको मेयर साहको दाबी छ । 

शैक्षिक सत्र सुरु भएपछि पुस्तक रहित शुक्रबारका कार्यक्रम निरीक्षणको क्रममा बालमैत्री सिकाइका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजानु पर्ने भनेका छन् । ज्ञान, सिप र सकारात्मक सोच  विकासको नतिजा किताबका पानामा नभएर सिकारुको रुचिमा निर्भर हुने मेयर बालेनको तर्क छ ।

विद्यार्थीहरूलाई परम्परागत पाठ्यपुस्तक प्रयोग नगरी अनुभव–आधारित सिकाइ, परियोजना कार्य, समुहगत छलफल, तथा अन्य नवप्रवर्तनात्मक गतिविधिहरूमा सहभागी गराइन्छ । 

यस दिनमा विद्यार्थीहरू आफ्नो स्केचिङ र स्कल्पचरमा सिप निखार्छन् । सरसफाइका लागि श्रमदान गर्छन्, चित्रमा रङ्ग भर्छन् र कागज काटेर कलात्मक बस्तु तयार पार्छन् । बालबालिकालाई सिर्जनात्मक सिकाइअन्तर्गत हाजिरी जवाफ, वाक्य निर्माण, स्काउटलगायतका क्रियाकलाप पनि सञ्चालन हुन्छ ।  

पुस्तक रहित शुक्रवार अन्तर्गत ः चरित्र र नेतृत्व विकास, डान्स, सङ्गीत, उद्यमशील, विपद् व्यवस्थापन समूहका कार्यक्रम फोकल शिक्षक र सेवा प्रदायकबाट सञ्चालन हुँदै आएको छ । परम्परागत शिक्षाबाट बाहिर निस्केर नयाँ दृष्टिकोण अपनाउन प्रेरित गर्दै विद्यार्थीहरूको आलोचनात्मक सोच, सृजनशीलता, र नेतृत्व क्षमताको विकासलाई प्रोत्साहित गरेको भन्दै मेयर बालेनले विद्यालयमा देखिन थालेको नतिजा क्रमशः परिवार हुँदै समुदायमा विस्तार हुने अपेक्षा राखेका छन् । 

त्यस्तै महानगरलेसामुदायिक विद्यालयको पूर्वाधार, वातावरणीय तथा अन्य सामुदायिक पक्षसँगै शिक्षकको क्षमता विकासका लागि लगानी बढाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राले आफ्नो हिँड्ने बाटो, परिवार र समाजप्रतिको दायित्व, स्वावलम्बनका कुरा निर्धक्क बोल्न सक्ने नै महागरले ठूलो उपलब्धिका रुपमा लिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update