काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैं नजिकिएको छ । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी सरकारले देशका विभिन्न ठाउँमा सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याइसकेको छ । दशैंमा काठमाडौंबाट घर फर्किने यात्रुहरुको चाप हुने भएकाले अग्रिम टिकट बुकिङ पनि छिट्टै नै खुला गरिने भएको छ ।
हिन्दुहरुको महान चाड बडादशैं नजिकिएको छ । नजिकिएको दशैं, तिहार, छठ लगायतका मुख्य चाडहरुलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याइसकेको छ ।
सरकारी स्वामित्वको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले असोज ३ गते संविधान दिवसका दिनदेखि नै सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले ४२ जिल्लाका ७४ स्थानमा शुरु गरेको सुपथ मूल्यका पसलहरु आगामी माघ २ गतेसम्म सञ्चालन गरिने छ ।
दशैंतिहार जस्ता चाडबाडका बेला बढी खपत हुने खाद्य वस्तुमा नागरिकलाई आंशिक राहत दिलाउने उद्देश्यले सरकारले वर्सेनि सुपथ मूल्य पसलहरु सञ्चालन गर्ने गरेको छ ।
मुख्य चाडबाड नजिकएसँगै बजारमा चहलपहल पनि बढेको छ । चाडबाडमा खपत हुने खाद्य सामग्री, लत्ता कपडाहरुका होलसेलदेखि खुद्रा ब्यापारीहरु ब्यस्त देनि थालेका छन् । काठमाडौंको मुख्य ब्यापारी स्थल महाबौद्ध, असन, इन्द्रचोक, न्यूरोडका गल्लीहरुमा चहलपहल बढ्दै गएको छ ।
अग्रिम टिकट बुकिङको तयारी
खासगरी दशैंमा काठमाडौंबाट ठूलो संख्यामा नागरिकहरु घर फर्किने भएकाले यातायात ब्वस्थापनमा पनि कठिनाइ हुने हुने गरेको छ । त्यसैले चाडबाडका यात्रुहरुलाई सहज ब्यवस्थापनका लागि भन्दै हरेक वर्ष घटस्थापनाअघिबाट नै अग्रिम टिकट बुकिङ खुला गर्ने गरिएको छ ।
वर्षाका कारण काठमाडौंबाट बाहिरिने लगायत देशभरका विभिन्न सडकहरुको दुरुवस्था भएकोले त्यसतर्फ यातायात ब्यवसायीहरुले सरकारलाई सडक सुधारका लागि आग्रह गरिरहेका छन् ।
शनिबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात ब्यवसायीहरुबीच छलफल भई केही महत्वपूर्ण निर्णयहरु गरिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात ब्यवसायी महासघंबीच भएको छलफलमा घटस्थापना अगाडि नै देशैभरका सडक मर्मत गरी यातायात सूचारु गर्र्नेदेखि भाडा समायोजन गर्ने लगायतका विभिन्न ७ बुँदे निर्णय भएका छन् । यो निर्णयसँगै यातायात ब्यवसायीहरुले घटनास्थापना भन्दा एक साताअघि नै अग्रिम टिकट बुकिङ खुला गर्ने बताएका छन् ।
छठपछिको हप्तामा भाडादर समायोजन
इन्धनको मूल्य ५ प्रतिशत भन्दा बढी घटबढ हुँदा भाडादर पनि समायोजन गर्ने गरिएको छ । तर इन्धनको मूल्य ५ प्रतिशत भन्दा बढी घटबढ हुँदा गरिने भाडा समायोजन पनि एक वर्षदेखि समायोजन नभएको यातायात ब्यवसायीहरुले बताउँदै आएका छन् ।
यस्तै, इन्धनको मूल्य बाहेक अन्य कारणले गर्नुपर्ने समायोजन पनि ३ वर्षदेखि नभएको भन्दै उनीहरुले भाडा समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् । ब्यवसायीहरुको उक्त मागलाई सम्बोधन गर्न छठपछिको एक हप्तामा भाडादर समायोजन गर्न यातायात ब्यवस्था विभागलाई निर्देशन दिने पनि निर्णय भएको छ ।